|

सुर्खेत : स्वास्थ्यकर्मीको अभावमा कर्णाली प्रदेशमा कोरोना महामारीमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमितको संख्या बढ्दा त्यो अनुसार चिकित्सक नहुँदा बिरामीले उपचार नपाएर छट्पटिनु परेको छ।

दैनिक चारसय देखि पाँचसय सम्म नयाँ कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव सृजना भएको छ।

भएका स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटिएका छन्। तर, स्वाथ्यकर्मीहरुको अभावकै कारण बिरामीहरुले राम्रोसँग उपचार पाउँन सकेका छैनन्। कोरोना महामारीसँग लड्नका लागि कर्णाली प्रदेशसँग दक्ष जनशक्तिको चरम अभाव छ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशभर आठसय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। जसमा एकसय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर हाल प्रदेशभर दुईसय ९६ जनाको मात्रै पदपूर्ति छ भने एकसय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा २७ जना चिकित्सक मात्रै कार्यरत छन्। दरबन्दीमा कार्यरत सात जना विशेषज्ञ चिकित्सक भने अध्ययन लागि विदामा छन्।

दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा कर्णाली प्रदेशले हाल करारमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर काम चलाउँनु पर्ने बाध्यता सिर्जना भएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार कर्णालीमा हाल करारसहित ९४ जना विशेषज्ञ चिकित्सकहरु कार्यरत छन्। उपलब्ध जनशक्ति कोरोना महामारीसँग जुध्ने पर्याप्त दरबन्दी अनुसारका चिकित्सक नभएकाले करारमा स्वास्थ्यकर्मी नियुक्त गरेर काम चलाउनु परेको डाक्टर खड्काको भनाइ छ।

चिकित्सकहरुले तत्काल आवश्यक स्वास्थ्यकर्मी र पूर्वाधारको व्यवस्थापन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्। कोरोना महामारी नियन्त्रणका लागि आवश्यक जनशक्ति र स्वास्थ्य पूर्वाधारको व्यवस्था गरिदिन उनीहरुले मागसमेत गरेका छन्।

मुख्यमन्त्री र मन्त्रीहरुसँग भएको छलफलमा प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले हाल भएका स्वाथ्यकर्मीले मात्र महामारीलाई रोकथाम गर्न नसकिने भन्दै तत्काल नयाँ स्वास्थ्यकर्मी भर्ना गर्न सुझाव दिएका हुन्।

कोरोना नियन्त्रणका लागि जनशक्ति थप्नुपर्ने, जोखिम भत्ताको सुविधा दिनुपर्ने, जिल्ला अस्पतालमा अक्सिजनसहितका बेडहरु थप्नुपर्ने, पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउनुपर्ने चिकित्सकहरुको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.