|

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) २५ गते मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। 

आज मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुनेछन्।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने छ। स्वास्थ्य संस्था र पेट्रोल पम्प खुला रहनेछन्। खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ।

विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायत कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ। समितिले औषधोपचार एवं अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ।

यो आदेशको अवज्ञा भएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारबाही गर्ने सीडीओ तामाङले बताए। छिमेकी जिल्लामा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको हो।

सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना संक्रमित संख्या २४३ पुगेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ। जिल्लामा संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.