मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याइयो

|

काठमाडाैं : कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।

बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसीले अक्सिजन उद्योगहरूमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

कोभिड १९ संक्रमित बढेसँगै अधिकांश बिरामीलाई उपचारमा अक्सिजन अभावमा मृत्युदर बढेको भन्दै केन्द्रले अक्सिजन वितरण समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ।

सोही कार्यविधि अनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गर्ने काम भएको छ। बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन सुरु गरिसकेको छ। सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सिंहदरबारमा मंगलबार बसेको सिसिएमसी बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराएका थिए।

काठमाडाैं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगको अनुगमन गरी विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरण तथ्यांक अद्यावधिक गर्ने काम भएको पनि बरालले बताए।

त्यसैगरी अस्पतालहरूलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरू संकलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

सिसिएमसीले सबैलाई 'बाँचौं र बचाऔं' भन्ने मूल आशयसहित अक्सिजन आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ। सिसिएमसिले काठमाडाैं उपत्यका र काभ्रेका उद्योग समेतमा गरी दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको बताएको छ।

तर अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिण्डर उत्पादन हुने गरेको बताइसकेको छ। संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन भनिसकेको छ।

उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारिक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ। उनीहरूका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.