|

भक्तपुर : सत्ता गठबन्धनमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसमा राखिएको छ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमालेलाई साथ दिने कि ओलीको विरुद्धमा विपक्षी दलको गठबन्धन गर्ने भन्ने विवादमा रुमलिएको जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरुलाई अहिले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसमा राखिएको हो।

जसपाको अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो ओलीको पक्षमा देखिएका छन। प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदा ठाकुर र महतो तटस्थ बसेका थिए।

प्रधानमन्त्री ओलीले संसदको विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम संसदमा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री दाबी गर्न आउन आह्वान गरेकी छन्। सोअनुसार आज सो समय सीमा सकिँदैछ।

दलहरु नयाँ सत्ता गठबन्धनको रस्साकसी चलिरहँदा जसपाका ठाकुर र महतो पक्षधर सांसदलाई बैठक छ भन्दै डोलेश्वर रिसोर्ट पुर्‍याइएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार जसपाका सांसदहरुको व्यवस्थापनमा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ८ वडाअध्यक्ष किरण थापा लगायतका नेकपा एमालेका नेताहरु खटिएका छन्। सांसदहरुको सुरक्षाको लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सादा पोसाकमा प्रहरी खटिएको स्रोतले  बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.