|
फाइल फोटो

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन तराईका जिल्लामा विशेष आकर्षण देखा परेको छ। तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बखत त्यहाँका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन्।

मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन्। नेपाल प्रहरीले म्यादी प्रहरीका लागि भर्ना आवेदन मागेलगत्तै तराई–मधेसका जिल्लामा युवाहरूको आकर्षण देखिएको जिल्ला समाचारदाताहरूले जनाएका छन्। म्यादी प्रहरीका लागि १७ चैतसम्म आवेदन बुझाउन सकिनेछ।

सिरहाबाट रोयन्टर मण्डलले दिएको जानकारीअनुसार आइतबार साँझसम्म २ सय ५० आवेदन वितरण भएकोमा २ सय जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन बुझाइसकेका छन्। उनका अनुसार पहिलो दिन ११, दोस्रो दिन ३६ र तेस्रो दिनसम्ममा २ सय जनाले आवेदन दिएका छन्।

रौतटहबाट रमेश तिमल्सिनाले दिएको जानकारी अनुसार ४ सय आवेदन वितरण भएको छ। त्यसमध्ये १ सय ३० जनाले भर्नाका लागि आवेदन दिइसकेका छन्। १ सय ३० मध्ये ७ जना महिला पनि रहेका छन् । रौतहटमा मधेसी मोर्चाका कार्यकर्ताले म्यादी प्रहरीमा जान युवाहरूलाई रोक लगाएका छैनन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनीति बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरूको लाम लागेको छ। बाराबाट कृष्ण सिग्देलले दिएको जानकारीअनुसार बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन्। बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन्। पर्सा समाचारदाता तुलसी भण्डारीका अनुसार पर्सामा पनि म्यादी प्रहरी भर्नामा आकर्षण देखिएको छ । दुई दिनमा २ सय ५० युवाले आवेदन दिइसकेको र आवेदन फारम करिब ६ सय जनाले लगिसकेका छन्।

जनकपुरबाट सुजितकुमार झाले दिएको जानकारीअनुसार स्थानीय तह निर्वाचनलाई मध्यनजर राख्दै धनुषा जिल्लामा पनि म्यादी प्रहरीका लागि स्थानीय युवाहरूले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले दिएको जानकारीअनुसार २ सय ४८ जनाले आवेदन दिइसकेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका ६ स्थानमा आवेदन लिने व्यवस्था मिलाएको छ।

म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिएको दोस्रो दिनसम्म करिब २ सय ५० जनाको दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन्। रूपन्देही मात्र होइन, पश्चिम तराईका कपिलवस्तु, बाँके, नवलपरासी, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि म्यादी प्रहरीका लागि थारू र मधेसी युवाको आकर्षण देखिएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालय जनाएको छ।

तराई–मधेसका धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयहरूले प्रहरी प्रधान कार्यालयमा जानकारी दिइसकेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ। पहाडमा पूर्वसुरक्षाकर्मीहरूले पनि आवेदन दिएका छन् भने तराईमा युवाहरूले बढी आवेदन दिएका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.