|

काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचन नजिकिएसँगै गृहमन्त्रीसमेत रहेका एमाले नेता रामबहादुर थापा बादलले एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। 

पर्सि जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशतर्फ राष्ट्रिय सभाको उप-निर्वाचनबारे छलफल गर्न थापा नेपाल निवास कोटेश्वर पुगेका हुन्।  थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार अहिले भेटवार्ता जारी छ। 

उपनिर्वाचनमा थापाका प्रतिद्वन्द्वी डाक्टर खिमलाल देवकोटा उम्मेदवार छन्। नेता नेपाल निकट देवकोटा विपक्षी गठबन्धनका साझा उम्मेदवार हुन्। थापाको चुनाव चिन्ह सूर्य र देवकोटाको कलम रहेको छ। 

एमालेभित्र विवाद उत्कर्षमा पुगेका बेला देवकोटालाई उम्मेदवार बनाइएपनि अहिले पार्टी एकतातर्फ अघि बढेपछि माधव पक्ष अन्योलमा छ। यहीबीचमा थापाले आफूलाई सहयोगका लागि आग्रह गर्न नेपालसँग भेटेका हुन्। एमालेले थापाका पक्षमा मतदान गर्न ह्वीप नै जारी गरिसकेको छ। यद्यपी माधव पक्ष के गर्ने भन्नेमा अलमलमै देखिएको छ।

थापालाई राप्रपाले पनि भोट दिने निर्णय गरिसकेको छ। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.