|

हेटौंडा : बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उप–निर्वाचन हुँदैछ। बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान अवधि तोकिएको छ। 

राष्ट्रिय सभाको एउटा पदका लागि हुन लागेको उप-निर्वाचनमा ३ जनाले प्रतिष्पर्धा गर्दैछन्। उप-निर्वाचनमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङबीच प्रतिस्पर्धा हुन लागेको हो। 

शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्।

बागमती प्रदेशको राजधानी हेटौंडाको भुटनदेवी उच्च माविमा हुन लागेको निर्वाचनमा कोरोना संक्रमण भएका मतदाताले पनि मतदान गर्नसक्ने व्यवस्था मिलाइएको छ।

कोभिड संक्रमण नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा, र कोरोना संक्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा  मतदान गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए।

मतदानमा सहभागी हुदा ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ। जसअनुसार कोरोना संक्रमण भएका मतदाता भए उनीहरूको लागि डाक्टरसहितको हेल्थ डेस्कको पनि स्थापना गरिएको छ।

साथै, आपतकालीन अवस्था आइपरे कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको पनि व्यवस्था गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए। उप–निर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ।

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने जनाएको छ। आज हुने राष्ट्रियसभा उप-निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ।

श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो। मतदान स्थलमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ।

मतगणना साँझ ५ बजेदेखि शुरू गरिनेछ। नतिजा आजै बेलुकी सार्वजनिक हुनेछ।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.