|

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।

बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। 

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर पार्टीले कोहलपुर नगरपालिका-११, स्थित क्रिकेट मैदानको पूर्वतर्फ रहेको स्थानमा शव व्यवस्थापन शुरू गरेको खड्काले जानकारी दिए।

स्थानीय सरकारले उक्त स्थानलाई आर्यघाटका रुपमा विकास गर्ने घोषणा गरिसकेकाले आफूहरूले सोही स्थानमा शव व्यवस्थापन शुरू गरेको खड्काले बताए।

कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेभित्रै तथा बाहिरी जिल्लाबाट समेत उपचारका लागि कोहलपुर आएका, तर ज्यान गुमाएका संक्रमितहरूको शव व्यवस्थापनमा समस्या देखापरेको थियो। कोरोना संक्रमित व्यक्तिका शव सम्बन्धित जिल्ला लैजान प्राविधिक रूपमा कठिन भएपछि अधिकांशले बाँकेकै विभिन्न घाटमा शवको दाहसंस्कार गर्दै आएका थिए।

बाहिरी जिल्लाबाट आएका र आर्थिक रुपमा समेत विपन्नले खेपेको समस्यालाई मध्यनजर गर्दै कोहलपुरमा निःशुल्क शव व्यवस्थापन शुरू गरिएको नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश समिति सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए।

माओवादी केन्द्र कोहलपुर नगर समितिले ​शव व्यवस्थापनको जिम्मा निःशुल्क लिएको बताउँदै न्यौपानेले मृतकका आफन्तको अनुमति प्राप्त भएपछि मात्र आफूहरूले शव व्यवस्थापन गर्ने जानकारी दिए।

अभियानको पहिलो दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाको उपचारकै क्रममा मृत्यु भएका दुई जनाको शव व्यवस्थापन गरिएको छ। नेपाली सेनासँगको सहकार्यमा स्थानीय डुडुवा खोलामा शव जलाउन शुरू गरिएको न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.