कांग्रेस प्रवक्ताले भने- 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ'

|

काठमाडाैं : राति अबेर बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कार्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। योसँगै वर्तमान प्रतिनिधिसभा भंग हुने भएको छ। 

जसअनुसार मुलुक संविधानको धारा ७६ को उपधारा ७ बमोजिम गएको छ।  संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था छ। 

मन्त्रिपरिषद्को आजको निर्णयबाट अर्थात् प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बैठकमा सहभागी एक मन्त्रीले थाहाखबरलाई जानकारी दिए। उनले भने- संविधानका हरेक उपाय सकिएपछि सरकार यो निर्णय लिन बाध्य भएको हो । अब ताजा जनादेशबाट समस्याको समाधान खोज्नु नै सहि विकल्प हुने छ। 

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ ' भनेका छन्।

प्रधानमन्त्रीमा कसैको दाबी नपुगेपछि आज राति अबेर बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। आजै साँझ पाँच बजे राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। तर किर्ते हस्ताक्षरलगायत दोहोरो नाम र हस्ताक्षरसहित दलहरूले राष्ट्रपति कार्यालयमा पत्र बुझाएका थिए। जसअनुसार प्रधानमन्त्रीमा कसैको दाबी नपुगेको राष्ट्रपति कार्यालयले अस्विकार भएको जनाउ दिएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.