|

पाल्पा : शिरमा ढाका टोपी। सेतो पृष्ठभूमिमा कालो र रातो धर्के खुइलिएको टिसर्ट। नीलो खालको पुरानो उब्लिएको पाइन्ट। च्यातिएर छियाछिया परेका चप्पल पहिरिएका। हेर्दा निकै अनुशासित। बोलाइमा उस्तै मिठास। जाँगरिला। तर, अध्याँरो संसारमा बाँचिरहेका। उनी हुन् जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित मगालका शिवबहादुर पौडेल।

पौडेलले दुवै आँखा देख्दैनन्। जन्मिँदा नै आँखा गुमेका थिए उनका। अहिले ४६ वर्ष पुगेका छन्। यताउता हिँड्डुल गर्न परे अरूको सहारा लिनुपर्छ। बाटो देखाइदिने साथी पाए जति टाढा पनि पुग्छन्। तर, घुम्नको लागि जाँदैनन्। अगरबत्ती बेच्दै पाल्पाको रामपुर, अर्घाखाँचीको सन्धीखर्क, गुल्मीको तम्घास र कपिलवस्तुको गोरूसिंगेसम्म पुग्ने गर्छन्। त्यही अगरबत्ती बेचेको पैसाले आफूसहित तीन जनाको परिवार पाल्दै आएका थिए। 

उनीसँगै एउटा खुट्टा गुमाएकी श्रीमती। यस्तो संघर्षमय जीवनमा खुसी दिन जन्मिएकी एउटी छोरी छन्। तानसेन नगरपालिका– ७ काजीपौवास्थितमा बस्दै उनकी श्रीमती तुलसाले अगरबत्ती बनाउने गर्छिन्। शिवले त्यही अगरबत्ती बेच्दै हिँड्ने गर्दथे। शिवले हिँड्न नसक्ने दुवै खुट्टा कमजोर भएका जगत बराललाई ह्वीलचियरमा लिएर विभिन्न ठाउँका बजार डुलेर अगरबत्ती बिक्री गर्दै आएका थिए। ह्वीलचियरमा बसेका जगतले शिवलाई बाटो देखाउने काम गर्छन्। कमाएको पैसा दुई जनाले बाँडेर लिन्छन्।

तर, अहिले निषेधाज्ञाका कारण गर्दै आएको कामसमेत बन्द भएको छ। काम गर्न नपाएपछि बिहान साँझ दुई छाक खानसमेत धौधौ भएको शिवले गुनासो गरे।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ। जसले गर्दा मानिस हिँड्डुल गर्नसमेत पाएका छैनन्।

तुलसाको पनि गुनासो उस्तै

रिब्दीकोट गाउँपालिका–८ सोमहरकी तुलसा पौडेलले यिनै शिवसँग २०६४ सालमा विवाह गरिन्। तुलसाको एउटा खुट्टा गुमेको छ। तुलसा भारतमा जन्मिएकी हुन्। उनका बुवाले त्यतिबेला भारतमै जागिर गर्नुहुन्थ्यो। तीन वर्षको हुँदा भारतमै गाडीको टायरले च्यापेर दाहिने खुट्टा गुमेको थियो।

एउटा खुट्टा गुमाएकी उनले दृष्टिविहीन शिवसँग विवाह गरिन्। माइतीमा बुवाआमा बित्नुभयो। दाजुभाइ छैनन्। बहिनीको विवाह भइसक्यो। अहिले साहरा दिने कोही छैनन्। गहभरी आँसु पार्दै उनले भनिन् ‘मैले अगरबत्ती बनाउँछु। दृष्टिविहीन श्रीमानले बिक्री गर्नुहुन्छ।’

कहिलेकाहीँ तुलसा आफैँ पनि अगरबत्ती बिक्री गर्न विभिन्न बजारमा पुग्ने गर्थिन्। श्रीमानले साथी नपाउँदा उनी आफैँ जाने गरेकी थिइन्। अगरबत्तीको काम गरेर मासिक ५ हजारसम्म आम्दानी हुन्थ्यो। यसरी नै त्यही कमाइबाट तीन जना परिवार जेनतेन पालिँदै आएको थियो।

निषेधाज्ञाले त्यही गर्दै आएको काम पनि ठप्प भएको छ। बनाएको अगरबत्ती बिक्री गर्न पाइएको छैन। अहिले दुई छाक खान पनि समस्या भइरहेको तुलसाले बताइन्। सरकारले यस्तो बेलामा राहतमूलक कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने तुलसाले आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.