|

झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। 

अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।

दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।

‘पीसीआर परीक्षण गराउने आउनको सङ्ख्या बढ्नु, तर त्यस अनुसारको अस्पताललाई पीसीआर किट (रिएजेन्ट) उपलब्ध नहुँदा सेवा बन्द गर्नु परेको हो,’ उनले भने। 

अघिल्लो वर्ष स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेको थियो। मेचीको पीसीआर मेसिन अत्याधुनिक खालको भएको र यसले एक पटकमा ९० वटा स्वाब परीक्षण गर्न सक्छ।

‘त्यसैले यस मेसिनलाई चाहिने रिएजेन्ट किट बजारमा किन्न पाइँदैन,' सूचना अधिकारी पोखरेलले भने, ‘यो किट सरकारले नै मगाउने हो, प्रदेश १ सामाजिक विकास मन्त्रालयसँग पनि छैन।’

मन्त्रालयले सात दिनअघि ५०० किट उपलब्ध गराएको बताउँदै उनले भने, ‘त्यो किट तीन दिनमै सकियो, अब किट आएपछि मात्र परीक्षण शुरू हुन्छ।’ 

मेचीमा पीसीआर परीक्षण बन्द भएपछि बिरामीलाई समस्या उत्पन्न भएको छ। झापासहित ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा सङ्कलित स्वाब ल्याएर मेचीमै पीसीआर परीक्षण गरिन्थ्यो।

अब जिल्लाको कनकाई नगरपालिकास्थित कोटिहोमको पीसीआर ल्याबमा मात्र पीसीआर परीक्षण गरिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.