|

काठमाडौं :  वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ।  ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए। 

२० दिनअघि कोरोना संक्रमण भएकी गिरीको निधन भने हृदयघातका कारण भएको जनाइएको छ। आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको हो।

विगत ३ वर्षदेखि उनी अल्जाइमर रोगले पीडित थिइन्। उनी साहित्यमा पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन्।

कवि गोपालप्रसाद रिमाल माथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट सो उपाधि प्राप्त गरेकी थिइन्। उनका श्रीमान, एक छोरा र एक छोरी छन्।

डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छामा २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको छ । सो फाउन्डेशनको पूँजी राशि झन्नै सात करोड रुपियाँ बराबर रहेको छ ।

डा.गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा त्रिमूर्ति निकेतनको आयोजनामा रथारोहण गराइएको थिए । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । 

डा.गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनको न्वारानको नाउँ सत्यदेवी थियो । राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम ए पढ्न उनी काठमाडौँ आएकी थिइन् । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा नैं आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम र वानीरा गिरी दोस्रो भएका थिए ।

त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उनलाई नेपालमा नै बस्न आग्रह गरेका थिए ।

साहित्यकार कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम भएकी थिइन् । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरू बीचको मत मतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो ।’

उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापनमा आवद्ध भइन् ।  उनले २०४२ सालमा पीएचडी गरिन् । नेपाली भाषा साहित्यमा पीएचडी गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ थिइन् ।

डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भयो भने सो कृतिको अङ्ग्रेजी भाषामा (२०७८) दुर्गा वनवासी शिवाकोटीबाट अनुवाद भएको छ ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा.गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ थिइन् । डा.गिरीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । 

डा.गिरीको विवाह २०२३ सालमा जनकपुरका इन्जिनियर शङ्कर गिरीसँग भएको थियो । उनका एक छोरी  र एक छोरा छन् । उनीहरु हाल अमेरिकामा बसोवास गदै आएका छन् ।

डा.वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.