बारम्बार संक्रमण जोखिम, कोरोनामुक्त भएका मधुमेहका रोगी उच्च जोखिममा

|

कोरोनाले थलिएको भारतलाई यतिखेर ब्ल्याक फंगसले पनि सताइरहेको छ। ब्लक फंगस कोरोना भाइरसको तुलनामा निकै बढी जोखिमपूर्ण छ। यसको संक्रमणमा परेका मानिसको मृत्युदर पनि निकै उच्च छ।

अहिलेसम्म भारतभर ब्ल्याक फंगसबाट संक्रमित भएका झण्डै १० हजार मानिस फेला परिसकेका छन्। म्युकरमायाकोसिस पनि भनिने यो संक्रमण भएका मानिसको मृत्युदर करिब ५० प्रतिशत छ। केही संक्रमितलाई बचाउन उनीहरूको आँखा नै निकाल्नुपरेको छ। 

भारतमा हालैका महिनामा यो फंगसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोना संक्रमणबाट मुक्त भएकाहरूलाई फेरि ब्ल्याक फंगसले आक्रमण गरेको हो।

ब्ल्याक फंगसको सम्बन्ध कोरोनाविरुद्ध उपचारमा प्रयोग हुने स्टेरोइडसँग रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार मधुमेह रोग लागेकाहरू ब्ल्याक फंगस संक्रमणको उच्च जोखिममा रहेका हुन्छन्। 

चिकित्सकहरूका अनुसार कोरोना संक्रमणबाट मुक्त भएको १२ देखि १८ दिनभित्र मानिसको शरीरलाई ब्ल्याक फंगसले आक्रमण गर्ने गरेको पाइएको छ। 

भारतमा ब्ल्याक फंगसबाट संक्रमितहरूमध्ये आधाभन्दा धेरै पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा भेटिएका छन्। यही क्षेत्र नै अहिले कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित छ। 

त्यहाँको अन्य १५ राज्यमा पनि ब्ल्याक फंगसबाट संक्रमित कम्तीमा ८ सय मानिसहरू फेला परेका छन्। निकै तीव्र गतिमा फैलिरहेकाले भारतका २९ राज्यमा यो समस्यालाई महामारी घोषणा गर्न आग्रह भइरहेको छ।

ब्ल्याक फंगस भएकाहरूलाई उपचार गर्न खोलिएका नयाँ वार्डहरूमा पीडितहरूको संख्या निरन्तर बढिरहेको त्यहाँका चिकित्सकहरूले जानकारी दिएका छन्।

मध्य प्रदेशको इन्दौर शहरस्थित ११ सय शय्या रहेको महाराजा यशवन्तराव अस्पतालमा एक साताभित्रै ब्ल्याक फंगसबाट संक्रमित १८५ जना भर्ना भएका छन्।

८० प्रतिशत संक्रमित तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेको सो अस्पतालमा मेडिसिन विभागका प्रमुख विपी पान्ड्यले जानकारी दिएका छन्।

गत वर्ष पनि ब्ल्याक फंगसबाट पीडित केही बिरामीहरू उपचारार्थ सो अस्पतालमा पुगेका थिए। इन्दौरमा मात्रै गत वर्ष करिब ४०० जनालाई ब्ल्याक फंगस भएको पाइएको थियो।

समयमै उपचार नपाए बिरामीको मृत्युदर ९६ प्रतिशतसम्म पुग्नसक्ने डा. पान्ड्यले जानकारी दिएका छन्। यसबाट पीडित बिरामीलाई उपचार गर्न खर्चसमेत महंगो पर्ने र औषधी आपूर्ति पनि सहज नभएको उनको भनाई छ।

ब्ल्याक फंगस पीडितहरूको ज्यान जोगाउन चिकित्सकहरूले एम्फोटेरिसन बी या एम्फो–बी इन्जेक्सन प्रयोग गरिरहेका छन्। यो इन्जेक्सन हरेक ८ हप्तामा एकपटक लगाउनुपर्छ। स्ट्यान्डर्ड एम्फोटेरिसिन बी डीअक्सीकोलेटलिपोसोमल एम्फोटेरिसिन पनि औषधी पनि खुवाउने गरिएको छ। 

कोरोना संक्रमणमुक्त भएकामा यो ब्ल्याक फंगस संक्रमण अधिक देखिएको छ। त्यसमा पनि पुरुषहरू यो खतरनाक समस्याबाट बढी प्रताडित भएका छन्। डायबिटीजको समस्या खेपिरहेकाहरूलाई पनि यो फंगसले दुःख दिइरहेको छ। 

चार भारतीय डाक्टरहरूले गरेको शोधअनुसार कोरोनामुक्त भएका मानिसहरूलाई पछि म्युकरमायकोसिस (ब्ल्याक फंगस) संक्रमण भएको पाइएको छ। १०० जना संक्रमितमाथि अनुसन्धान गर्दा ७९ जना पुरुषलाई फंगस संक्रमण भएको पाइएको हो। यसबाट पीडितमध्ये ८९ जना मधुमेहबाट पीडित थिए। 

मुम्बईका दुई अस्पतालमा भर्ना भएका ४५ जना पीडितमाथि हालै अध्ययन भएको छ। सो अध्ययन क्रममा सबै संक्रमित मधुमेहबाट पीडित भएको पाइएको छ। 

के हो ब्ल्याक फंगस 

म्युकरमायकोसिस पनि भनिने यो संक्रमण विश्वमै निकै दुर्लभ मानिन्छ। यो ढुसीका कारण हुन्छ। माटो, बिरुवा, मल र सडेको फलफूल तथा सागसब्जीमा यस्तो ढुसी हुनसक्छ। स्वस्थ मानिसको नाकमै पनि यो फंगस रहेको हुनसक्छ। 

यो फंगसले अनुहारको हड्डी, दिमाग र फोक्सोमा असर गर्छ। डायबिटीज र एचआइभी/एड्स लगायत रोग लागेकालाई संक्रमण भए मृत्युदर अधिक हुनसक्छ। 
नाक बन्द हुनु, नाकबाट रगत या कालो पदार्थ निस्कनु, आँखा चिलाउनु र पीडा हुनु, आँखाको परेली उठाउन नसक्नु, धमिलो देख्नु र अन्त्यमा अन्धोपन हुनेजस्ता समस्या ब्ल्याक फंगसले निम्त्याउने गर्छ। 

ब्ल्याक फंगसबाट संक्रमित भई खराब अवस्थामा पुगेपनि मात्रै मानिसहरू उपचार प्रकृयामा आउँदा बचाउन गाह्रो हुने गरेको भारतका चिकित्सकहरूले बताएका छन्। यस्तो स्थितिमा दिमागसम्म संक्रमण फैलन नदिन त्यहाँ संक्रमितको आँखा नै निकाल्न परिरहेको छ। 

ब्ल्यांक फंगस रोक्न अहिलेसम्म फेला परेको एकमात्र औषधी एन्टी फंगल इन्जेक्सन नै हो। यो इन्जेक्सनको एक डोजको मूल्य नै करिब ३५ सय भारु पर्छ। यो इन्जेक्सन हरेक ८ हप्तामा एकपटक लगाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.