|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) संसदीय दलको आकस्मिक बैठक डाकिएको छ।

एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक बैठक बोलाइएको हो।

आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन्। आज १२:३० बजे संसदीय दलको कार्यालयमा बैठक शुरू हुने बताइएको छ।

बैठकमा ओली पक्षका सांसदलाई भने अनुपस्थित छन्। ओली पक्षका सांसदलाई  खबर नगर्दा अनुपस्थित रहेको बुझिएको छ। 

ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए। उनले भने, ‘हामीलाई बैठकबारे खबर नै आएको छैन।'

तर, संसदीय दलको बैठक बसिरहेको बताउँदै माधव पक्षका प्रदेशसभा सदस्य अमरबहादुर साउदले भने, ‘हामीलाई दलको नेताले बैठक भनेर खबर गर्नुभयो। अहिले हामी दलको कार्यालयमा छौँ।’ केही बेरमा दलको बैठक शुरू हुने उनले बताए।

५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन्। त्यसमा पनि नेपाल पक्षका १८ र ओली पक्षका ७ जना सांसद छन्। आजको बैठकले यही सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्नसक्ने बताइएको छ।

यस्तो छ एमाले संसदीय दलको अंकगणित

​प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन्।

प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन्। उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा गर्दैनन्‌ भन्ने हेर्न बाँकी छ।

बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ। तर, पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरूलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.