|

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। 

शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। अहिले विहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइएको छ। उनका अनुसार तरकारी पसल भने विहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ। 

बढ्दो भीडभाडले कोरोना संक्रमण घट्न नसकेपछि यस्तो निर्णय गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय पनि गरेको छ।

‘नयाँ निर्णय जेठ १४ गते शुक्रबार विहान देखि कार्यान्वयनमा आउनेछ’, उनले भने। यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि जेठ १३ गते मध्य रातिदेखि सकिँदै थियो। 

उनका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको छ। काठमाडौं जिल्ला प्रशासनले सोमबार नै सार्वजानिक सूचना जारी गर्दै हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइसकेको छ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.