|

झापा : दोस्रो पटक भएको संसद् विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सशक्त आन्दोलनको तयारी गरिँदै छ। 

देश र जनताविरुद्ध जघन्य अपराध भएको र फेरि एक पटक आन्दोलित हुनुपर्ने भन्दै झापाका राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत यस्तो आह्वान गरेका हुन्।

बिर्तामोडमा आज बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रसहित झापाका ९ वटा राजनीतिक दलका प्रतिनिधिले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरूको रक्षाका खातिर आन्दोलनको अग्र मोर्चामा रहेर विगतका दिनहरूमा जस्तै सशक्त भूमिका निर्वाह गर्न झापाली जनतालाई आह्वान गरेका हुन्।

संसद्को पुनर्स्थापनाका लागि पुनः आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै विज्ञप्तिमा भनिएको छ- संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई विग्रह र विखण्डनको बाटोमा लैजाने षडयन्त्रको पर्दाफास गर्दै संयुक्त जनआन्दोलनका कार्यक्रमहरू अघि बढाउन अब ढिला गर्न हुँदैन। 

'कोरोना भाइरसको तेस्रो भेरियन्ट आउन लाग्यो, देश महामारीको चपेटामा छ। जनता घरबाहिर निस्कने अवस्था छैन। यस्तो अवस्थामा चुनावलाई बहाना बनाएर निरङ्कुश, अधिनायकवादी शासन लाद्ने प्रधानमन्त्री र राष्ट्रपति षडयन्त्रलाई जनताबीच भण्डाफोर गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनु आजको आवश्यकता हो,' विज्ञप्तिमा यो पनि भनिएको छ। 

बैठकमा कांग्रेसका झापा सभापति उद्धव थापा, माओवादी केन्द्रका सचिव मणिकुमार साम्पाङ, माधव–नेपाल पक्षका एमालेका अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका दिपेनवाला राई, बहुल राष्ट्रिय मोर्चाका सन्जुहाङ पालुङ्वा , संघीय लिम्बुवान् मञ्चका धनबहादुर पन्धाक, विवेकशील साझा पार्टीका मेदनी प्रसाइँ, राष्ट्रिय जनमोर्चाका सन्तोष राई र राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश थम्देनले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.