|

जनकपुरधाम : कोरोनाबाट मृत्यु भएका आफन्तको शव जलाउन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन्।

जनकपुरधामस्थित स्वर्गद्वारी (आर्यघाट) मा एउटा शव जलाउन १५ देखि १७ हजार रुपैयाँसम्म बुझाउनु परेको गुनासो पीडितहरूबाट आएको छ।

मंगलबार जनकपुर–१६ का एक व्यक्तिले स्वर्गद्वारमा बुबाको शव व्यवस्थापन गर्न जाँदा १५ हजार तिर्नुपरेको बताए। उनले भने, ‘अस्पतालमा बुबाको उपचारका लागि लाखौँ रुपैयाँ खर्च गर्‍यौँ। तर, बुबालाई बचाउन सकिएन, दाहसंस्कार गर्दासमेत चर्को शुल्क तिर्नुपर्‍यो।’

उनले पीडामाथि पीडा थपिएको बताउँदै भने, ‘कोरोना महामारीको कारण लगभग एक महिनादेखि सबै कामधन्दा बन्द भएर आमजनताको कमाई बन्द पनि छ, घरपरिवारको दैनिक गुजारा चलाउनपनि धौधौ छ, लाखौँ रुपैयाँ ऋण गरेर बुबाको उपचार गरायौँ, तर बचाउन सकेनौँ। अन्तिममा दाहसंस्कारपनि चर्को शुल्क तिर्नु पर्दा जस्तो पीडाको अनुभुति भयो-भन्नई गाह्रो छ।’

उनले यस्तो महामारीका बेला राज्यका तर्फबाट कम्तिमा शव व्यवस्थापन हुनुपर्ने बताए। भने, ‘कोरोना कालमा शव व्यवस्थापन निःशुल्क वा आफूखुसी दिने व्यवस्था हुनुपर्छ।’

अहिले जनकपुरधामस्थित स्वर्गद्वारले शव व्यवस्थापनका लागि दाउरा लगायतका सामग्रीको नाममा प्रतिशव १४ देखि १७ हजार रुपैयाँ लिने गरेको पाइएको छ।

स्वर्गद्वारको ठेक्का लिएका जनकपुरका जबाहर शर्माले उक्त दरको रुपैयाँ लिएको स्वीकार गरे। उनले समान्य दिनमा बढीमा १० हजार रुपैयाँसम्म शुल्क लिने गरेपनि अहिले अलि महंगो लिएको बताए।

ठेकेदार शर्माले भने, ‘कोरोना कालमा सबै सामग्री महङ्गो छ, दाउरा पाइरहेको छैन, गाउँ-गाउँ डुलेर खोजेर दाउराको जोहो गर्नुपर्छ, खर पनि सबै ठाउँमा पाइँदैन, कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापन गर्ने काम पनि त्यतिकै जोखिमपूर्ण छ। त्यसकारण अहिले सामान्य दिनभन्दा अलि बढी रकम लिनुपर्ने बाध्यता छ।’

स्वर्गद्वारले अहिले कोरोना संक्रमितको शव जलाउन दाउरा, खर, गुइँठा र घ्यू लगायतका सामग्रीका लागि प्रति शव १४ देखि १७ हजार रुपैयाँसम्म लिने गरेको छ।

ठेकेदार शर्माले मासिक साढे ७ हजार रुपैयाँमा स्वर्गद्वारीको ठेक्का लिएका हुन्‌। उनले भने,‘ सामान्य दिनमा हप्तौंसम्म एउटा पनि शव आउँदैन, अहिले दैनिक औषतमा ६ वटासम्म शव आउने गरेको छ। व्यवस्थापनका लागि पनि कर्मचारीहरू थपेर राख्नुपरेको छ।’ उनले आफूले बढी रकम नलिएको, बरू समाजिक कार्य गरिरहेको दावी गरे।

शर्माले भने, ‘कमाई भन्दापनि यस्तो जोखिमपूर्ण काम गरेका छौँ, २४ औं घण्टा खटेका छौँ, रेखदेख गरेका छौँ, बेवारिसे तथा अति गरीब र विपन्नका शव शुल्क नै नलिई दाहसंस्कार गर्दै आएका छौँ।’ यदी मृतकका परिवारजनले दाउरा लगायतका सामग्री आफैँ व्यवस्थापन गरेको खण्डमा कुनै शुल्क नलाग्ने उनले जानकारी दिए।

मानव अधिकारकर्मी तथा इन्सेकका प्रदेश २ संयोजक राजु पासवानले यस्तो विपतको बेला शव व्यवस्थापन जिम्मा राज्यले लिनुपर्ने बताए। पासवानले भने, ‘यस्तो आपत विपतको बेला राज्यको उपस्थिति रहेको आम जनताले महसुस गर्नको लागि पनि यसको जिम्मेवारी लिनुपर्दछ।’ उनले कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा लाग्ने खर्च प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने माग गरे।

जनकपुरका समाजसेवी पवन सिंघानियाले चन्दा संकलन गरेर उक्त स्वर्गद्वार निर्माण गरेका हुन्। शव जलाउँदा बढी शुल्क लिएकोबारे सिंघानियासँग जिज्ञासा राख्दा उनले शव जलाउन आवश्यक दाउरा, गुइठा, खर र घ्यू लगायतका सामग्रीबापत शुल्क तिर्नुपर्ने प्रावधान रहेको र सो बाहेक अन्य कुनै पनि शुल्क नलाग्ने बताए।

उनले भने, ‘स्वर्गद्वारीमा शव जलाउने वापतको शुल्क लिएको छैन। त्यहाँ जगेडा गरी राखिएको दाउरासहित मृत्यु संस्कारमा प्रयोग गरिने अन्य सामग्री खरिद गर्नुपरेको हुँदा मात्र रकम तिर्नुपर्छ। यदि मृतकका परिवारजनले सो व्यवस्था आफैँले गरे कुनै किसिमको शुल्क तिर्नुपर्दैन।’

सिंघानियाले अस्पतालका  दर्जनौं बेवारिस शवलाई आफ्नो व्यक्तिगत खर्चमा समेत दाहसंस्कार गरेको बताए। उनले अहिले कोरोना महामारीको बेला शव जलाउनेले यहाँका कर्मचारीलाई स्वेच्छाले केही रकम दिने गरेको दावी पनि गरे।

स्थानीय बुद्धिजीवीहरूले अहिले जनकपुरधामभित्रका अस्पतालमा कोरोनाको कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनमा लाग्ने खर्च राज्यले ब्यहोर्नुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.