|

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई स्पष्टीकरण सोध्ने भएको छ। पार्टी केन्द्रको निर्देशनविपरीत निर्णय गरेको भन्दै तीनै मन्त्रीलाई पहिलो चरणमा २४ घण्टे स्पष्टीकरण सोधिने भएको हो।

प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई एमाले सुदूरपश्चिमले २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी थालिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए।

 उनले थाहाखबरसँग भने, ‘उहाँहरूले पार्टीको हितका विपरीतमा काम गर्नुभएको छ। उहाँहरु पार्टीबाट मन्त्री हुने तर पार्टी केन्द्रको निर्णयको अवज्ञा गर्ने यो असह्य छ। पार्टीबाट संसदीय दलको नेता बन्ने, सरकारमा सहभागी हुने तर पार्टीको निर्णय र निर्देशन नमान्ने त्यसको कुनै अर्थ रहँदैन।‘ उनले थपे, ‘उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिन्छ। उपयुक्त जवाफ नआए पार्टीको निर्णयअनुसार कारबाही हुन्छ।‘

​सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई स्पष्टीकरण सोधिने एमाले सुदूरपश्चिमले जनाएको छ।

एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन्। संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेशसभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन्।

पार्टीले निर्देशन दिए पनि मन्त्रीहरु भने सरकारबाट फिर्ता नहुने मनशायमा छन्। सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ जना सदस्य छन्। उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.