स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्‍न

|

धनगढी : नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्पष्टीकरणको जवाफ बुझाएका छन्। मन्त्री सुवेदीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोधेको तीन बुँदे स्पष्टीकरणको जवाफ बुझाएका हुन्।

मन्त्री सुवेदीले स्पष्टीकरण पत्रको आधिकारिकतामै प्रश्न उठाएका छन्। ‘नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटीको निर्णयबमोजिम सुदूरपश्चिम प्रदेश संगठन कमिटीमा अध्यक्ष र सचिवको व्यवस्था नरहेको विदितै छ। हुँदै नभएको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारितामा नै प्रश्न चिन्ह लाग्ने कुरा स्पष्ट छ,’ आफू प्रदेशसभाको सांसद भएकाले संसदीय दलको निर्णयलाई नै शिरोपर गरेको स्पष्टीकरणको जवाफमा मन्त्री सुवेदीले भनेका छन्।

उनले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट विमुख भएको ठहर हुने हुँदा समर्थन जारी राख्दै प्रभावकारी भूमिका खेल्ने निर्णय भएको पनि बताएका छन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै सुवेदीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए।

मन्त्री शाह र भट्टले पनि आजै स्पष्टीकरण बुझाउने तयारी गरेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा मन्त्री रहेका एमालेका शाह, सुवेदी र भट्ट माधव नेपाल समूहका हुन्।

उनीहरुलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीले निर्णय गरेको थियो भने सोही निर्णयलाई टेक्दै प्रदेश कमिटीले निर्देशन दिएको थियो। तर, एमाले सुदूरपश्चिमको संसदीय दलले स्थायी कमिटीको निर्णय र प्रदेश कमिटीको निर्देशनविपरीत माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.