मन्त्रिपरिषद् विस्तार हुँदै, लामा मन्त्री बन्‍ने

|

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकबाट तारालामा तामाङलाई हटाएको छ। लामा मन्त्री बन्ने पक्का भएपछि सचेतकबाट हटाइएको समाचार स्रोतले जनाएको छ।

तामाङलाई हटाउँदै संसदीय दलले लालबहादुर खड्कालाई दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ। यसअघि प्रमुख सचेतक रहेका तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि उनलाई जिम्मेवारीबाट हटाउँदै खड्कालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

यस्तै, संसदीय दलका नेता शाहले सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन्। यसअघि  अक्कल रावल सचेतक थिए। रावल पनि मन्त्री बन्ने लाइनमा रहेको स्रोतले बतायो।

आजै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरु थपिने भएका छन्। स्रोतले भन्यो, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तारको तयारी थालिएको छ। एमाले र माओवादी केन्द्रका सांसद्लाई समेटेर मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै छन्।‘ मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट शपथग्रहण गराउने तयारी थालिएको हो।

तर, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भने संसदीय दलको आधिकारीकतामाथि नै प्रश्न उठाएका छन्।

उनले प्रमुख सचेतकलाई हटाइएको निर्णय अनाधिकृत रहेको बताउदै थाहाखबरसँग भने, ‘उहाँले पार्टीलाई त्यस्तो सरकारमा जाने भन्ने कुनै जानकारी दिनुभएको छैन। प्रमुख सचेतक हटाउने संसदीय दलको यो कार्य अवैधानिक र गुटगत प्रवृत्ति हो।‘ यसबारेमा पार्टीले निर्णय गरेर कारबाहीको प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.