|

विराटनगर : संसदको बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदेश १ का विपक्षी दलहरुले आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेका छन्।

प्रदेश सरकारले संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गर्न आग्रह गरेका हुन्।

असार १ मा प्रदेशले बजेट ल्याउने संवैधानिक व्यवस्था भए पनि यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ। मुख्यमन्त्री शेरधन राईले संसद् छलेर बजेट ल्याउने सरकारको कुनै योजना नरहेको बताउँदै आए पनि अहिलेसम्म बजेट अधिवेशन बोलाउने तयारी गरेको छैनन्।

सरकारले महामारीलाई बहाना बनाएर संसद् निरन्तर छल्न खोजिरहेको माओवादी सांसद कुलप्रसाद साम्बाले बताए। अधिवेशन बोलाउन पहल गरिदिन आफुहरुले प्रदेश प्रमुखलाई भेटेको उनको भनाई थियो। सांसद साम्बाकाअनुसार प्रदेश प्रमुख अधिकारीले  सरकारसँग छलफल गर्ने र पहल गर्ने वचन दिएका छन्।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश आर्थिक नियमावली र कार्यविधि सरकारले उल्लंघन गरिसकेको बताए। कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक कार्की, सचेतक सूर्यराज राई, जनता समाजवादी दलका नेता जयराम यादव, माओवादीका सांसदद्वय लिम्बु र विजय विश्वाससहितको टोलीले प्रदेश प्रमुखलाई भेटेको थियो।

प्रदेश सरकारले संविधान, ऐन सबै मिच्न थालेको कांग्रेस प्रमुख सचेतक कार्कीले आरोप लगाउँदै भने,‘संविधान मिच्ने सरकारी कदममा प्रदेश प्रमुखले संविधानले किटान गरेअनुसार सरकारलाई सजग गराउनु पर्यो भनेर हामीले आग्रह गर्यौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.