|

सर्लाही : विष्णु गाउँपालिकाबाट उद्धार गरिएकी एक दलित समुदायकी किशोरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएकी छन्।

विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवविरुद्ध १७ वर्षीया ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी हुन्। यता पीडित किशोरीले जाहेरी दर्ता गरेपछि पीडक पक्षले भने किशोरीका परिवारलाई आर्थिक प्रलोभन र धम्की दिन थालेका छन्।

पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र जाहेरी दर्ता भइसकेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। ‘पीडित किशोरी आफैंले किटानी जाहेरी दिइसकेकी छन्’, राठैरले भने, ‘अब अभियुक्तलाई तुरुन्त नियन्त्रणमा लिन खोजतलास बढाइसकेका छौं, कानुनअनुसार अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएका छौं।'

विवाह गर्ने भन्दै शिवाले एक महिना पहिल्यै मुसहर समुदायकी किशोरीलाई घरबाट भगाएका थिए। स्थानीय दलित अगुवा एवं समाजवादी दलित मुक्ति महासंघका जिल्ला उपाध्यक्ष राजन बैठाका अनुसार बाराको जितपुरमा २० दिनसँगै राखेपछि शिवाले किशोरीलाई १५ दिनअघि उनकै घरमा ल्याएर छाडिदिएका थिए। तर अभिभावकले घरमा पस्न नदिएपछि किशोरी फेरि शिवाकै घरमा गएको र शिवाको अभिभावकले समेत तल्लो जातको भन्दै घरभित्र पस्न दिएका छैनन्। 

गोठमा लगेर राखेपछि शिवा घरबाट फरार भएको र शिवाका बुबालगायत अभिभावकले समेत अमानवीय व्यवहार गरेका पीडित किशोरीले बताएकी छन्। गत शुक्रबार जिल्ला प्रहरी कार्यालयको टोली, महिला शान्ति केन्द्रकी प्रमरख बनिता कार्की, दलित अगुवाहरु राजेश पासवान, राजन वैठा, पँचु माझी मुसहर लगायत टोलीले किशोरीलाई शिवाको गोठबाट उद्धार गरी मलंगवा ल्याएको थियो। किशोरीलाई हाल मलंगवा नगरपालिकाले सञ्चालन गरेको महिला शान्ति केन्द्र सेफ (हाउस) मा राखिएको छ।

अनपढ एव अत्यन्त गरिब दलित समुदाय भएकाले केटाको पक्षबाट किशोरीका अभिभावकलाई प्रलोभन एवं धम्की आउन थालेको पीडित परिवारले बताएको छ। किशोरीका दाइले भने केटाको पक्षबाट धम्की र प्रलोभन आएको बताए। 'समाजका सबै मिल्नु मिल्नु भन्छन्। उजुरी नगर्नु भन्छन्। 'किशोरीका दाइले भने', ‘दुई लाख रुपैयाँ लिएर मिल्नु भनिरहेका छन्, नमिले अफ्ठ्यारो हुने भन्दै धम्की पनि दिइरहेका छन्।’

सेफ हाउस प्रमुख बनिता कार्कीले हाल किशोरीलाई सुरक्षित रुपमा राखिएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.