|

बैतडी : नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट हस्तान्तरण गरिएको हो। 

जिल्ला विपद् व्यवस्थापन समितिलाई १० हजार थान मास्क, एक थान अक्सिजन कन्सन्ट्रेटर र २५ थान पिपिई हस्तान्तरण गरिएको  हो। यस्तै, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। चारवटै कार्यालयलाई १ हजारका दरले मास्क वितरण गरिएको छ भने नेपाली सेनालाई ७ वटा डेथ बोडी बेग पनि हस्तान्तरण गरिएको हो।

 अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सहयोग होस् भनेर स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए।

उक्त स्वास्थ्य सामग्रीले  कोरोना महामारी नियन्त्रणमा खटिनेहरुलाई काम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाई छ। 

यसैबीच, ह्युमिनीटी फाउण्डेसन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ। निर्माण व्यवसायी प्रयागराज भट्टको पहल र दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टको समन्वयमा फाउण्डेसनले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

फाउण्डेसनले उपलब्ध गराएको ५ थान बेड र २ हजार मास्क गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष भट्टले बताए। महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज होस भनेर हामीले फाउण्डेसन मार्फत स्वास्थ्य सामग्री उपलब्ध गराइएको  हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.