चाहना डाक्टर थियो, परिस्थितिले बनाइदियो पत्रकार

|

काठमाडौं : दशवर्षे सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीले युद्धकालमा सञ्चालन गरेको रेडियो जनगणतन्त्रका मध्यपश्चिम संयोजक सचिन रोका अहिले नेपाल टेलिभिजनको महाप्रबन्धकको जिम्मेवारीमा छन्। नेपाल सरकारले २०७३ फागुन ९ गतेको निर्णयबाट उनले चारवर्षका लागि महाप्रबन्धकको जिम्मेवारी पाएका हुन्। युद्धकालदेखि शान्तिकालसम्म सक्रिय सञ्चारकर्मीको भूमिका निर्वाह गरेका सचिन भन्छन्- 'चार वर्षे कार्यकालमा नेपाल टेलिभिजनलाई सबै नेपालीले मनैदेखि आफ्नो ठान्ने बनाउँछु।'

अनिश्चित जीवनका निश्चित सपना

कुनै दिन यस्तो महत्त्वपूर्ण पदमा पुग्नसक्छु भनेर कहिल्यै सोच्नुभएको थियो? भन्ने जिज्ञासामा उनी एकपटक मुस्कुराए र भने 'एस, स्योर।' उनले तत्कालै जवाफ दिए, ‘मैले ०६० सालदेखि चार फिट अग्लो हिउँमा बसेर जनगणतन्त्र रेडियोमा काम गर्दा यस्तो सोचेको थिएँ।’ उनले रोल्पाको जलजला पहाडको टुप्पो र रुकुमको तीनबैनी, झिझिकाँडाको लेकमा बसेर रेडियो सञ्चालन गर्दै गर्दा यस्तो परिकल्पना गरेको बताए।

कुनै दिन रेडियो नेपालमा पुग्नेछु भन्ने कल्पनाले पनि उनलाई निकै रोमाञ्चित बनाउँथ्यो। नभन्दै नेपालमा शान्ति प्रक्रिया सुरु हुनासाथ बनेको पहिलो सरकारको पालामै रेडियो नेपालको 'घटना र विचार' कार्यक्रम संयोजकको रूपमा उनले नियुक्ति पाए।

त्यतिबेलाको जीवन एकदमै अनिश्चित थियो। माथि आकाशबाट हेलिकोप्टरले बम वर्षा गरिरहन्थ्यो, तल जमिनमा तत्कालीन शाही नेपाली सेना र नेपाल प्रहरीले लखेटेको लखेट्यै गर्थे। कतिखेर कहाँ कसलाई के हुने हो भन्ने कुराको केही पत्तो हुँदैनथ्यो।

'कतिबेला को शहीद हुने हो भन्ने मात्र दिमागमा आउँथ्यो', रोका भन्छन्, 'एकपटक रोल्पाको फुन्टिवाङमा स्टेशन खडा गरिएको थियो। रात पर्न लागेको थियो। एक किलोमिटरपारिको डाँडामा आर्मी आइसक्यो भन्ने खबर आयो।' त्यो रात रातारात घोडा र खच्चरमा सामान बोकाएर र आफैँ पनि सामान बोकेर रुकुमको झिझिकाँडा पुगेको सम्झना उनलाई ताजै छ।

रातभर हिँडेरै भएपनि अर्को ठाउँमा रेडियो स्टेशन खडा गरेर निश्चित समयमा जनतालाई समाचारबाट सुसूचित गर्नुपर्ने दायित्वबाट उनी कहिल्यै भागेनन्। श्रमजीवी जनताको पक्षमा केही गर्नुपर्छ भन्ने हुटहुटीले नै त्यो बेला ती सबै काम गर्न सकिएको उनी बताउँछन्।

उनलाई युद्ध मोर्चाको अग्रपंक्तिमा रहेर पहिलो शहीद बन्ने चाहना थियो रे! भन्छन्, 'तर त्यो अवसर मेरा लागि अाएन।' तथापि अब बाँचेर नै देश र जनताका लागि केही गर्नुपर्छ भन्ने उनलाई लागेकाे छ।

युद्धमैदानको प्रत्यक्ष प्रसारण 

रुकुमको खारामा भएको दोस्रो भीडन्तमा उनले प्रत्यक्ष युद्ध मैदानको रिपोर्टिङ गरे। जताततै गोली र बमका गर्जनको बीचमा युद्धभूमिको प्रत्यक्ष रिपोर्टिङ गर्नु निकै चुनौतीपूर्णकाम थियो। स्टेशनमा रविन क्षेत्रीले र युद्ध मैदानबाट सचिनले गरेको त्यो प्रत्यक्ष प्रसारण त्यस क्षेत्रका जनताले रातभर जागै रहेर सुनेको उनी बताउँछन्।

२००७ सालमा नेपाली कांग्रेसको मुक्ति सेनाले पूर्वको एउटा जंगलमा स्थापना गरेको रेडियो नै पछि गएर रेडियो नेपालको रूपमा विकसित भएको इतिहास पढेर तत्कालीन माओवादीले पनि जनयुद्धसँगै आफ्नो प्रचारयुद्ध अगाडि लैजाने उद्देश्यका साथ २०६० सालमा नेपालका पाँच ठाउँमा 'रेडियो जनगणतन्त्र नेपाल'को औपचारिक प्रसारण सुरु गरेको थियो। मध्यपश्चिमको रेडियो सञ्चालन गर्नुपर्ने जिम्मेवारी सचिनको काँधमा आएको थियो।

डाक्टर बन्न चाहन्थे, तर बने पत्रकार

गाउँको स्कुलबाट एसएलसी पास गरिसकेपछि ०५० सालमा उनी उच्चशिक्षा अध्ययन गर्न पोखराको पृथ्वीनारायण क्याम्पस पुगे। उनको सपना थियो डाक्टर बन्ने, तर बन्न पुगे पत्रकार। विविध कारणले डाक्टर बन्न नसक्ने देखेपछि उनले शिक्षक बन्नका लागि साइन्स पढ्न थाले। २०४५ सालमै उनी विद्यार्थी संगठनमा आवद्ध भएर पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी भए।।

सो क्याम्पसमा आईएस्सी सकेपछि उनी रुकुम फर्किएर जनयुद्धमा सहभागी भए। त्यतिबेला उनी भर्खर २२ वर्षका थिए। २०५२ साल फागुन १ गते औपचारिक रूपमा जनयुद्धको सुरुवात भएको थियो। जनयुद्ध घोषणाको पूर्वसन्ध्यामा उनी रुकुमको सदरमुकाम खलंगामा बम बिस्फोट गराउने र पर्चा पम्पलेट टाँस्ने काममा खटिएका थिए।

०५४ सालमा जनयुद्धलाई सफल पार्न प्रचार युद्धलाई पनि सँगसँगै लैजाने कुरामा पार्टीले गम्भीर छलफल गर्‍यो। रेडियो सञ्चालन गर्ने र पत्रपत्रिकालाई नियमित प्रकाशन गर्ने पार्टीको निर्णयअनुसार सचिन जनादेश, जनआह्वानलगायतका पत्रिकामा रिपोर्टरको रूपमा खटिए। बिस्तारै पत्रकारहरूसँग पनि सम्बन्ध बन्दै गयो। संगठनभित्र पनि प्रचारविभागको जिम्मेवारी सचिनले पाउनथाले।

२०६० सालसम्म उनी पार्टीको एरिया कमिटी सदस्य हुँदै जिल्ला कमिटीको सह-सेक्रेटरी बनेका थिए। सोही सिलसिलामा पार्टी केन्द्रको बैठकले देशव्यापी पाँचवटा रेडियो सञ्चालन गर्ने र मध्यपश्चिमको जिम्मेवारी सचिनलाई दिने निर्णय गरेपछि उनी पूर्ण रूपमा पत्रकारितामा होमिए। पत्रकार बन्ने कुनै सपना नभए तापनि आवश्यकताले उनी यस क्षेत्रमा तानिएका थिए। 

माओवादीका चर्चित नेता वर्षमान पुन 'अनन्त'ले ०६० सालमा सचिनलाई रेडियोको जिम्मेवारी लिनका लागि पहिलो पटक आग्रह गरेका थिए। संयोगवश त्यसको १३ वर्षपछि उनै अनन्तले नै सचिनलाई नेपाल टेलिभिजनको महाप्रबन्धकको जिम्मेवारीमा गएर काम गर्नको लागि आग्रह गरे।

उनी ०६३ सालको चैतमा रेडियो नेपालमा पुगेका थिए। त्यतिबेला अहिलेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा संचारमन्त्री थिए। त्यतिबेलै सचिनले संचारकर्मीहरूको एउटा टिम लिएर रेडियो नेपाल प्रवेश गरेका थिए।

रेडियो नेपालमा अपहेलनाको अनुभव

तत्कालीन विद्रोहीको भूमिगत रेडियोमा काम गरेका सचिनले रेडियो नेपाल प्रवेश गरेको सुरुका केही दिनसम्म निकै अपहेलना भोग्नुपर्‍यो। 'यिनीहरू जंगलबाट आएका हुन्। यिनले के जानेका होलान् र!'भनेर अरू पुरानारेडियोकर्मीहरूले निकै हेला गरे। केही रेडियोकर्मीले भने सचिनको टिमलाई सहानुभूति देखाए। 'पानीमा डुबेकालाई परालको त्यान्द्रोको पनि सहारा हुन्छ' भनेजस्तै त्यो सहानुभूतिले निकै खुसी लागेको सचिन बताउँछन्। 

तीन वर्षदेखि 'रेडियो जनगणतन्त्र नेपाल'को निर्देशकको जिम्मेवारी सम्हालेका सचिनले रेडियो नेपालमा आफूलाई दरो सावित गर्ने प्रण लिए। धेरै वर्ष अगाडिदेखि रेकर्ड गरिएको कार्यक्रम मात्र प्रसारण गर्ने गरिएकोमा सचिनले पहिलोपटक 'घटना र विचार' कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिदिए। यसरी घटना र विचार कार्यक्रमको नयाँ इतिहास सुरु गरेपछि मात्र रेडियो नेपालका सबैले उनको प्रशंसा गरेका सुनाउँछन् सचिन। त्यसपछि भने सबैले उनलाई सम्मान गर्न थालेका उनको अनुभव छ।

नेपाल एफएम व्यावसायिक पत्रकारिताको विश्वविद्यालय

सचिनसँग नेपाल एफएम नेटवर्कमा पाँच वर्षसम्म समाचार प्रमुखका रूपमा काम गरेको अनुभव छ। त्यतिबेला नेपाल एफएमको 'चार्म' निकै राम्रो थियो। देशभर सयौं रेडियोले त्यो एफएमको समाचार प्रसारण गर्ने गर्दथे। त्यतिबेलासम्म मिसन पत्रकारिता गरिरहेका सचिनको पत्रकारितामा नेपाल एफएम नेटवर्क नै व्यावसायिक पत्रकारिताको विश्वविद्यालय जस्तै भएको थियो। 'कसरी पत्रकारिता गर्ने भन्ने कुरा वास्तवमा मैले नेपाल एफएम नेटवर्कमा सिकेको थिएँ', उनी भन्छन्।

०६४ चैत २५ गते सचिनले आफ्नै अग्रसरतामा रुकुममा 'रेडियो सानीभेरी' सञ्चालन गरे। खासमा चैत २८ गतेको संविधानसभाको पहिलो चुनावलाई मध्यनजर गरेर त्यो एफएम रेडियो सञ्चालनमा ल्याइएको थियो। अहिले सञ्चालनको एक दशक पुग्न लाग्दा रेडियो सानीभेरी त्यस क्षेत्रकै नमुना रेडियोको रूपमा अगाडि बढिरहेको कुरा सुनाउँदा उनको अनुहारमा आत्मविश्वास झल्किरहेको प्रष्टै देखिन्थ्यो। ०७२ चैतदेखि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा आफ्नै अगुवाइमा 'रेडियो प्रदेश एफएम' सञ्चालन भइरहेको उनले सुनाए।

सुरक्षा दलको सदस्य हुँदै महाप्रबन्धकसम्म

त्यतिबेला जनयुद्ध सुरु भइसकेको थिएन तैपनि पार्टीले विभिन्न खालका कार्यक्रमहरू गरिरहेको थियो। संगठन बिस्तारदेखि लिएर सुरक्षाको लागि लडाकुहरू बिस्तार गर्ने काम भइरहेको थियो। ०५२ सालको मंसिरताका गाउँस्तरमा काम गर्नेलाई स्वयंसेवक दल, इलाकास्तरको काम गर्नेलाई सुरक्षा दल र जिल्लास्तरमा काम गर्नेलाई लडाकु दल भनिन्थ्यो।

सचिनले एरियास्तरमा रहेर सुरक्षा दलको सदस्यको लागि सुरक्षा तालिम लिएका थिए। जनयुद्ध सुरु हुने पूर्व सन्ध्यामा उनले सदरमुकाममा बम पड्काउने जिम्मेवारी पाएका थिए। 

रुकुमको छिवाङ- ५, लामिडाँडामा जन्मिएका सचिन बुबाआमाका एक मात्र छोरा हुन्। रेडियो नेपालबाट बाँचेको होइन, मरेको खबर कहिले आउने हो भनेर हरेक दिन रुँदैरुँदै बस्थे रे परिवारजनहरू।

पार्टीमा नै काम गरिरहेकी सहकर्मी मिलन खड्कासँग जनवादी विवाह गरेका सचिनका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन्। मिलन अहिले अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सदस्यको भूमिकामा सक्रिय छन्।

जनयुद्ध सुरु हुनेबेला आईएस्सी पढ्दै गरेका उनी रिजल्ट नआउँदै युद्धमा होमिए। पढाइ यत्तिकै रोकियो। पछि शान्तिप्रक्रिया हुरु भएपछि मात्र उनले ०६३ सालमा आरआर क्याम्पसमा स्नातक भर्ना गरे। पूर्वाञ्चल विश्वविद्यालयबाट ब्रोडकास्टिङ मिडियामा स्नातकोत्तर सकेका सचिन पीएचडीको तयारीमा रहेका छन्।

महाप्रबन्धक भएपछिका अनुभूति

नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्ति पाएपछि सचिन बढी सक्रिय र जिम्मेवार भएको महसुस गर्छन्। आफूले नगरेको वा नबुझेको क्षेत्र नभएकाले उनलाई काम गर्न खासै समस्या अनुभव भएन रे! 'विगत दुई दशकयता म पत्रकारिताको वरिपरि नै छु', भन्छन्, 'त्यसैले त्यस्तो विल्कुलै नयाँ, नौलो अनुभूति केही पनि छैन।' 

मिडिया व्यवस्थापन र सञ्चालनको क्षेत्रमा पहिले जे गरेको हो, त्यही कुरा यहाँ पनि लागू हुने सचिनको बुझाइ छ। सबै संचार माध्यममा भोग्नुपर्ने समस्या र अवस्था उस्तै भए पनि यस्ता खाले सरकारी संचार माध्यममा एउटै फरक रहेको बताउँदै सचिन भन्छन्, ‘यहाँ सरकारी नियम कानुनको परिधिभित्र बाँधिएर काम गर्नुपर्छ। नयाँ अनुभूति भनेको त्यही मात्र हो। अरू कुरा उस्तै हो, जो म विगत धेरै वर्षदेखि गर्दै आइरहेको छु।'

नेपाल टेलिभिजनमा अहिले जे जस्ता कार्यक्रम प्रस्तुत हुने गरेका छन्, ती सबैका कुनै न कुनै पाटोमा सुधार गर्नुपर्ने अथवा थप परिमार्जनको आवश्यकता छ भन्छन् उनी। 'सबै कुरामा चित्त बुझाएर वा सन्तुष्ट भएर बस्यो भने त प्रगति नै हुँदैन', उनी भन्छन्।

नेपाल टेलिभिजन राज्य अर्थात सरकारी सञ्चार माध्यमको रूपमा रहेको छ। सचिनको भनाइमा नेपाल टेलिभिजन हेर्नु आवश्यकता मात्र होइन, बाध्यता पनि हो। उनका अनुसार सरकारको आधिकारिक भनाइ के हो भनेर पनि यो हेर्नुपर्ने आवश्यकता र बाध्यता दुवै छ। उनले आफू महाप्रबन्धक भएपछि केही नयाँ काम गर्नुपर्ने भएको र त्यसको लागि आफूले केही नयाँ योजनाहरू पनि बनाइरहेको बताए।  

आगामी चार वर्षमा नेपाल टेलिभिजनलाई अझै बढी लोकप्रिय बनाउने लक्ष्य उनले लिएका छन्। 'सबै प्रदेशमा नेपाल टेलिभिजनको सेवा बिस्तार हुँदै छ। विषयवस्तु पनि अहिलेको भन्दा अझै प्रभावकारी, अहिलेको भन्दा अझै अनुसन्धानात्मक प्रसारण गर्ने विषयमा हामीले सोच्नुपर्छ, उनी भन्छन्, 'अहिलेको नै ठीक छ भनेर चित्त बुझाएर बस्यौं भने अरू प्रगति गर्न सकिन्न।' 

नेपाल टेलिभिजनका आफ्नै मूल्य मान्यता र बाध्यता भएको उल्लेख गर्दै सचिन ऐन कानुनले नै यसका सीमारेखा तोकिदिएको बताउँछन्। ती बाध्यतालाई परिमार्जन गरेर लैजानुपर्छ भन्ने माग आमदर्शकका साथै सबैको रहेको उनको धारणा छ। 'हामी दर्शकको मागअनुरूप नै यसलाई परिवर्तन गरेर लैजान चाहन्छौं, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.