कांग्रेससँग छलफल

|

जनकपुरधाम : जनता समाजवादी पार्टी महन्थ ठाकुर–राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारका सहभागी भएपछि प्रदेश २ को मन्त्रिमण्डल फेरबदल हुने देखिएको छ। जसका लागि जसपा अर्का अध्यक्ष उपेन्द्र यादव आज (शुक्रबार) जनकपुरधाम आएका छन्।

अध्यक्ष यादव प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति तयार गर्न शुक्रबार साँझ जनकपुर आइपुगेका हुन्। जनकपुर आउनुअघि यादव नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेट गरी प्रदेश सरकार परिवर्तनमा सहयोग गर्न छलफल गरेका थिए।

जसपा केन्द्रमा विभाजन भएपछि यादव पक्षका लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार धरापमा पर्ने अवस्था आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै कांग्रेसलाई सरकारमा सहभागी हुन अध्यक्ष यादवले आग्रह गरेका छन्। 

जसपामा विवाद चुलिएपछि अध्यक्ष यादवले प्रदेश सरकार बचाउन कांग्रेस उपसभापति निधिलाई भेटेर कुराकानी गरेका हुन्। 

पार्टी स्रोतअनुसार यादव केही दिन जनकपुर बसेर ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीमा लागेका छन्। 

यता मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो नेतृत्वको सरकारले पार्टीको आन्तरिक लफडाका कारण प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारमा आउन छलफल अगाडि बढाएका छन्।

मुख्यमन्त्री राउतले कांग्रेस संसदीय दलका नेता राम सरोज यादवलाई आफ्नो निवासमा बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। मुख्यमन्त्री राउतबाट आएको प्रस्तावको सम्बन्धमा छलफल गर्न कांग्रेस प्रदेश सांसदहरूले आन्तरिक छलफलसमेत गरेका एक सांसदले जनाए।

शुक्रबार बिहान बसेको कांग्रेस सांसदहरुको बैठकमा पार्टीबाट मुख्यमन्त्रीको दाबी गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी सांसदले बताए। बैठकमा सहभागी ती सांसदले कांग्रेस नेतृत्वमै सरकार गठन सम्बन्धमा समेत छलफल भएको जनाए।

प्रदेश सरकारले जेठ २७ गते सरकारको नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने तय भएको छ। जसपाको आन्तरिक विवादको कारण नीति कार्यक्रम र बजेट फेल गराउने सम्भावना देखिएको कारण प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटअगावै सहमति भए कांग्रेस सरकारमा जान सक्ने सम्भावना हुँदा यादव समूहले कांग्रेसलाई सरकारमा सहभागी गराउन छलफल बढाएको छ।

नीति तथा कार्यक्रम र बजेटलाई पूर्वराजपाले पास हुन नदिने जोखिम रहेकाले सरकार सुरक्षित हुन कांग्रेस र माओवादी केन्द्रको सहयोगको सुनिश्चितता गर्न उपेन्द्र समूहले सक्रियता बढाएको हो।

कांग्रेस उपसभापति विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार उपेन्द्र यादवसँग भेटवार्ता क्रममा प्रदेश २ मा जसपाले तीन वर्ष सरकार चलाइसकेको अवस्था अब बाँकी अवधि कांग्रेस नेतृत्वमा सरकार बनाएर जानुपर्ने कुरा निधिले राखेका छन्। दाहालले भने, ‘निधिका अनुसार जनता समाजवादीले अबको बाँकी समय कांग्रेस नेतृत्वमा सरकार बनाउन संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्रीमा सघाउनुपर्छ।’

तर यादवले भने पहिले सरकारमा आउन आग्रह गर्दै त्यसपछि यसबारे पनि छलफल गर्न सकिने जवाफ दिएको दाहालले बताए। उनका अनुसार यादवले तत्काललाई कांग्रेस सरकारमा सहभागी भएपछि नेतृत्व हस्तान्तरणका विषयमा छलफल गर्न सकिने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.