|

झापा : नेपाल चलचित्रकर्मी संघले निम्न आय वर्गका चलचित्रकर्मीहरूलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण कार्य सुरु गरेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका प्रदेश १ भरिका चलचित्रकर्मीहरूको लागि खाद्यान्न सामग्री राहत वितरण कार्य सुरु गरेको हो।

सङ्घले यसअघि नै राहत वितरणका लागि ‘चलचित्रकर्मी राहत कोषको स्थापना गरिसकेको थियो। सङ्घले शनिबार झापाको बिर्तामोडबाट यस अभियानको सुरुवात गरेको नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश १ का अध्यक्ष केवल तामाङले जानकारी दिए।

बिर्तामोडबाट सुरु गरिएको अभियान अन्तरगत सङ्घले दमक, उर्लाबारी, इटहरी, विराटनगर, धरानलगायतका क्षेत्रमा पुगेर निम्न आय वर्गका चलचित्रकर्मीका परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक लिटर तेल, एक प्याकेट नुन, दुई वटा डल्ला साबुन, स्यानिटाइजर र मास्क लगायतका सामाग्री वितरण गरिने अध्यक्ष तामाङले बताए।

उनका अनुसार प्रदेश १ का अन्य विभिन्न क्षेत्रहरूमा पनि चलचित्रकर्मीहरूलाई राहत सामग्रीको माग भइरहेकोले त्यस क्षेत्रमा पनि राहत पुर्याउने काम गरिने बताए। राहत वितरणसँगै आम नागरिकको लागि समेत अक्सिजन सिलिन्डर, औषधी, तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापन कार्यमा समेत सङ्घ जुटेको उनको भनाई छ।

सङ्घले चलचित्रकर्मीहरूको लागि स्वास्थ्य बिमा लगायतका विभिन्न सामाजिक कामहरू गर्दै आएको छ।  कोरोना महामारीका कारण नेपालको चलचित्र क्षेत्र पनि मारमा परेको छ। यसमा आबद्ध निर्माता, निर्देशक, वितरक, हल सञ्चालक, कलाकार, प्राविधिक, गायक गायिकालगायतको आर्थिक अवस्था पनि दिनप्रतिदिन खस्कँदो अवस्थामा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.