|

धनुषा : सिरहामा एक प्रधानाध्यापक माथि कुटपिट गरिएको छ।

सिरहा नगरपालिका वडा नं. १० स्थित नरहैया सुन्दर निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक अशेश्वर महतोमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत सिरहा नगरपालिका वडा नं. १० का वडाअध्यक्ष जुगल किशोर कामतीसँग मिलेर प्रधानाध्यापकले विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै केहि स्थानीय युवाहरुले कुटपिट गरेको बताइएको छ।

विगत ३ वर्षदेखि विद्यालयको हरहिसाब सार्वजनिक गर्न भन्दै आएपनि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले आलटाल गर्दै आएको आरोपमा आज विद्यालयमा आयोजना गरिएको एक कार्यक्रम पश्चात केहि युवाहरुले प्रधानाध्यापकलाई कुटपिट गरेको बताइएको छ।

विद्यालयको नयाँ भवन निर्माणका लागि १८ लाख राष्ट्रपतिबाट सहयोग आएपछि भवन निर्माणको लागि आज शिलान्यास कार्यक्रम राखिएको थियो।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरि गएपछि पुरानो हिसाबकिताब सम्बन्धी प्रधानाध्यापक अशेश्वर महतो र केहि युवाहरु बीच विवाद उत्पन्न भयो र सोहि क्रममा केहि युवाहरुले प्रधानाध्यापक महतोलाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले जनाए।

घटनाबारे प्रहरीले जानकारी पाएर विद्यालयमा आई प्रधानाध्यापक महतोलाई सुरक्षा दिएको बताइएको छ।

यसैबीच केहि स्थानीयहरुले शिक्षकलाई कुटपिट गरिएको घटनालाई निन्दनीय भन्दै विरोध जनाएका छन्। उनीहरुले जब विद्यालय व्यवस्थापन समिति सहितको संलग्नतामा अनियमितता भएको छ भने शिक्षकमाथि किन कुटपिट भयो भनेर प्रश्न उठाएका छन्।

एक स्थानीयले भने, ‘जहिले पनि कमजोरमाथि नै किन कुटपिट हुने? वडा अध्यक्षसहितको विद्यालय व्यवस्थापन समिति छ भने उनीहरुमाथि किन केहि प्रश्न उठाइएन। यस घटनामा संलग्न दोषी उपर कार्वाही हुनुपर्छ।’

मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था इन्सेकका सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारले शिक्षक माथि कुटपिट हुनु दुःखद रहेको बताउँदै घटनामा संलग्न उपर कारवाही हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.