|

बर्दिया : जिल्लाको ठाकुरबाबा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई २० हजार रुपैयाँ राहत दिने भएको छ। नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिका परिवारमध्ये कसैको कोरोनाका कारण ज्यान गएमा राहतस्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

ठाकुरबाबा नगरपालिका क्राइसिस म्यानेजम्यान्ट समितिको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, ठाकुरबाबा नगरपालिकामा ६२,६३ र ६४ वर्ष उमेर समूहका व्यत्तिहरुलाई जेठ २७ गते (बिहीबार) कोरोना भाइरसविरुद्धको भेरोसले खोप लगाउने तयारी गरिएको छ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ र २ का व्यक्तिहरुले नेउलापुर स्वास्थ्य चौकिमा खोप लगाउन सक्नेछन्। यस्तै, वडा नम्बर ३,४ र ५ का व्यक्तिले वगनाहा स्वास्थ्य चौकीमा, वडा नम्बर ६ र ७ ले शिवपुर स्वास्थ्य चौकीमा र वडा नम्बर ८ र ९ का व्यक्तिले ठाकुरद्वरा  स्वास्थ्य चौकीमा सम्पर्क राख्न सक्ने नगरपालिकाले जनाएको छ।

ठाकुरबाबासँगै बर्दियाका ८ वटै पालिकामा खोप कार्यक्रम हुने बताइएको छ। सरकारले ज्येष्ठ नागरिकलाई पहिलो चरणको भेरोसेल खोप लगाउन सुरु गरेको छ। चीनबाट अनुदानमा प्राप्त यो खोप २५ जेठबाट देशैभरि लगाउन थालिएको हो।

ठाकुरबाबा नगरपालिका सिएमसिको बैठकले कोभिड महामारीको नियन्त्रणका लागि ४ वटा अक्सिजन सिलिण्डर खरिद गर्ने पनि निर्णय गरेको छ। जसका लागि ४ लाख रुपैयाँ छुट्याउने र थप आइसियु बेड पनि खरिद गरिने भएको छ।

कोरोनाको लक्षण देखिएका व्यक्तिको हरेक दिन बिहान १० बजे एन्टीजेन परीक्षण गरिने र पिसिआर भने आवश्यकताअनुसार गरिने सिएमसि बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.