|

सुर्खेत : राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो हटाउन अदालतले आदेश दिएको छ। सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियोहरू युट्युव, सामाजिक संजाल तथा सञ्चार माध्यमबाट हटाउन आदेश दिएको हो।​

आरोपी विरुद्ध परेको करणीसम्बन्धी कसुर मुद्दामा शुक्रबार जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यस्तो आदेश दिएको। यौन दुर्व्यवहारका भिडियोहरू हटाउनका लागि जिल्ला प्रशासन कार्यालयल मार्फत गृह मन्त्रालयलाई सार्वजनिक सूचना जारी गर्न आदेश दिइएको छ।

‘युट्युब लगायतका सामाजिक संजालमा राखिएका सामग्रीहरू हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ। यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीको लागि लेखि पठाउनु’ आदेशमा भनिएको छ।

युट्युव तथा सामाजिक संजालबाट भिडियो नहटाउनेलाई प्रहरीले साइबर कानून अन्तर्गत कारबाही गर्नेछ। सामग्रीहरू हटाउने कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरेको छ।

त्यस्तै, युट्युवबाट भिडियो नहटाउने च्यानलहरूलाई बन्द गर्नसमेत अदालतले आदेश दिएको छ। करणीजन्य अपराधका सामग्रीहरू गोप्य हुनुपर्नेमा पीडितको पहिचान खुलाएर भिडियोहरू सार्वजनिक भएपछि अदालतले यस्तो निर्देशन दिएको हो।

जिल्लास्थित पत्रकारहरूको संगठनमार्फत यस्ता सामग्रीहरू प्रचार–प्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराइएको छ।

जेठ २१ गते राति गुर्भाकोट दुईजना युवाहरूले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युबमा छाइरहेका छन्। युट्युब, सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमले समेत पीडितसँग सम्बन्धित सामग्रीहरू प्रशारण गर्दै आएका छन्।

अनुसन्धानका लागि १० दिन थप

आरोपितलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न अदालतले १० दिनको म्याद थप गरिदिएको छ। म्याद थप भएसँगै आरोपीलाई प्रहरीले असार ५ गतेसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। आरोपीहरूले यौन दुर्व्यवहार गरेको स्वीकार गरिसकेका छन्। तर पीडितको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा थप छानबिन हुनेछ।

त्यस्तै, घटनाको भिडियो सार्वजनिक गर्ने थप व्यक्तिहरूमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेत जिल्ला अदालतले पीडित युवतीको सुरक्षालाई ध्यान दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ।

पीडित युवतीहरू असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ।

युवतीको स्वास्थ्य परीक्षण

पीडित युवतीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। यौन दुर्व्यवहारमा परेकी दुई राउटे युवतीहरूको शुक्रबार स्वास्थ्य परीक्षण गरिएको हो।

यौन दुर्व्यवहार भएको आठ दिनपछि पीडितको स्वास्थ्य परीक्षण गरिएको हो। प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण भएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन्।

परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन। पीडितलाई थाहा नदिएर नै स्वास्थ्य परीक्षण गरिएको हो। असुरक्षाको कारण देखाउँदै यौन दुर्व्यवहारको घटनाबारे राउटे समुदायलाई जानकारी दिइएको छैन।

त्यस्तै, जेठ २१ गते राति गुर्भाकोट नगरपालिकाका दुई युवाले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेका थिए। पीडितलाई प्रलोभनमा पार्दै मदिरा पिलाएर युवाहरूले यौन दुर्व्यवहार  गरेका थिए।

घटनाको भोलीपल्ट मात्र यौन दुर्व्यवहार गरेको भिडियोहरू सामाजिक सञ्जालबाट बाहिरिएका थिए।

भिडियोहरू सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले २३ गते गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित एक होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परिसकेका छन्। युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशिल आवाज संस्थाले किटानी जाहेरी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.