८२ घार मौरी, वार्षिक १५ लाख कमाउने लक्ष्य

|

पाल्पा :  बगनासकाली गाउँपालिका–८ घ्यूसीबासका २५ वर्षीय शंकर भट्टराई। सानै उमेरमा दुःखका दिनले घेरिएको उनको जीवन। घरमा चार जनाको परिवार। बुवाले भारतमा सामान्य जागिर गर्दथे। घरमा आफूसँगै आमा र सानी बहिनी। मासिक सरदर १५ हजार तलब थियो बुवाको। त्यही तलबले परिवारको खर्च जेनतेन चल्दै आएको थियो। 

कक्षा १२ पास गरेका थिए शंकरले। जतिबेला उनी १९ वर्ष पुगेका थिए। त्यही बेला २०७२ सालमा उच्च रक्तचापका कारण बुवाको मृत्यु भयो। परिवारमा ठूलो बज्रपात निम्तियो। बुवाको मृत्यु भए लगत्तै उनका दुःखका दिनहरू सुरूवात भए। सानै उमेरमा परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आइपर्‍यो। योसँगै व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरेर प्रतिष्ठित व्यवसायी बन्ने उनको सपना चकनाचुर भयो।

ऋणको आडमा विदेश

सुनौला भविष्यका सबै योजना भताभुङ्ग पारेर उनी विदेश जाने सोच बनाए। साहुको ऋण तिर्नुपर्ने र आमा र बहिनीलाई पाल्नकै लागि विदेश गए। छिमेकीसँग एक लाख २० हजार ऋण खोजेर मामामार्फत वैदेशिक रोजगारको लागि दुबई पुगे। तर त्यहाँ उनले सोचेजस्तो काम पाएनन्। दूध पाउडरको कम्पनीमा काम गर्नुपर्‍यो।

त्यहाँ उनले दूध पाउडर प्याक गरिएका २५ किलोग्रामका बोरा बोक्ने काम गर्दथे। १२ घण्टासम्म झण्डै २ हजार बोरा बोकेर दुई तलामाथि लैजानुपर्ने थियो। यो काम गरेबापत मासिक २१ हजार रुपैयाँ तलब पाउँथे।

पछिल्लो समयमा भने कम्पनीको पुरानो मान्छे भएका कारण उनलाई  काम गर्न केही सहज भएको थियो। तलब पनि बढ्यो। तर, उनी घर फर्कन खोजिरहेका थिए।  जसोतसो काम गरेर चार वर्ष बिताएका शंकर अन्ततः घर फर्किए। अब उनी जागिर गर्नकै लागि विदेश नजाने अठोट गरेका छन्।

कोरोनाको मारमा घर, अनि सुरु भयो मौरीपालन

शंकर घर फर्किएको डेढ वर्ष हुन लाग्यो। उनी घरमा आउँदा नेपालमा पहिलो चरणको कोरोना महामारी फैलिएको थियो। त्यही कारणले एक वर्ष घरमा खाली नै बसे। परिस्थिति सहज भएपछि एउटा भ्यान किने। चालक राखेर त्यही भ्यान चलाउँदै आए। यो व्यवसायबाट राम्रै कमाइ भएको थियो।

तर, यो व्यवसायमा उनी सन्तुष्ट थिएनन्। सानै देखि मौरी पाल्ने उनको रहर थियो। घरमा चार वटा घारमा मौरी थिए। जुन परम्परागत शैलीमा पालिएको थियो। व्यावसायिक रूपमा मौरीपालन गर्न खोजेका उनले गाउँपालिकाका कृषि प्राविधिकसँग ५० वटा मौरी घारको माग गरे।

भाग्यवश त्यही समयमा मौरी पकेट क्षेत्रको रुपमा काम गर्न चाहाने किसानको लागि बगनासकाली गाउँपालिकाले सूचना प्रकाशित गर्‍यो। ‘घ्यूसीबास मिश्रीत कृषक समूह’ गठन गरेर उनले पनि निवेदन पेश गरे। त्यही समूहका शंकरसहित तीन जना युवाले मौरीपालनसम्बन्धी कार्यक्रम पाए।

अहिले उनको मौरीपालन व्यवसाय गर्ने योजना पूरा भएको छ। प्रदेश सरकारले दिएको मौरीपालन सम्बन्धी तालिम लिएका छन्। गाउँपालिकामार्फत चार लाख रुपैयाँ अनुदान पाउने भएका छन्।

८२ घार मौरी, १५ लाख कमाउने लक्ष्य

अहिले ८२ वटा घारमा मौरी पालेका छन्। मकैबारी, ढिक कान्लामा उनले मौरीका घार राखेका छन्। व्यवसाय थालेको तीन महिनामै लाभ लिन थालिसकेका छन्। केही दिनअघि ३६ वटा घारबाट ५५ किलोग्राम मह काढेका छन्। एक किलोग्रामलाई १ हजार २ सयमा बिक्री हुन्छ। करिब ७० हजारको मह काढिसकेका छन्।

एक वर्षमा करिब १५ लाख बढीको मह बिक्री गर्ने लक्ष्य रहेको शंकरले बताए। कोभिड–१९ का महामारीका कारण बिक्री गर्नका लागि बजारसम्म लैजान समस्या भएको छ। अहिलेसम्म छिमेकी गाउँमै खपत हुँदै आएको उनले बताए।एउटा घारमा ९ किलोसम्म मह उत्पादन

एक वर्षमा एउटा घारबाट तीन पटकसम्म मह काढ्न सकिन्छ। एक पटकमा एउटा घारमा ९ किलोसम्म मह उत्पादन हुन्छ। उनका अनुसार मौरी गोलासमेत बिक्री हुन्छ। घारसहित मौरीगोला ८ हजार ५ सयमा खरिद गरेर लैजाने गरेका छन्। एउटा घारबाट तीन महिनामा मौरी विभाजन गर्न सकिन्छ।  यहाँ मौरीका लागि प्रशस्त चरिचरण गर्ने बनजंगल रहेका छन्।

धेरै परिश्रम गर्नु पर्दैन। दिनभर एक पटक रेखदेख गरे हुन्छ। परजीवि शत्रुको हेरविचार गरे हुन्छ। एक हप्तामा घारभित्रको अवस्था हेर्ने गरेको उनले बताए। अरिङ्गाल, बच्छिउँ, केही चरा, छेपारो लगायतले मौरीका माउ खाने गर्दछ। यसबाट बचाउनु पर्ने उनले बताए।

बजारको व्यवस्थापन गर्नुपर्ने, उचित मूल्य निर्धारण गर्नुपर्ने, ढुवानी व्यवस्था हुनुपर्ने, आधुनिक मौरीपालन सम्बन्धी थप तालिम दिनुपर्ने, उपकरण दिनुपर्ने शंकरले सरकारसँग माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.