|

सुर्खेत : ​नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकमा बहाल भएका चार सांसदमध्ये प्रकाश ज्वालामात्रै सहभागी भएका छन्‌।

​बिहान ८ बजे बोलाइएको बैठक बहाल भएका सांसदहरूले सहभागिता जनाउन आनाकानी गरेपछि ४ घण्टा ढिला शुरू भएको हो। बैठकमा बहालभएका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन्।

नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको बहाल भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ।

बैठकमा बहाल भएका अन्य तीन सांसदहरू उपस्थित भएका छैनन्‌। हाल प्रदेशमन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा बैठकमा सहभागी नभएका हुन्‌।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन उक्त चार सांसदलाई पत्राचार गरिएको थियो।एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले जेष्ठ ३१ गते नै आज बिहान ८ बजे संसदीय दलको बैठकमा सहभागीका लागि चिट्ठी काटेर आमन्त्रण गरेका थिए। उक्त आमन्त्रण अस्वीकार गर्दै ज्वाला बाहेक अन्य तीन सांसद बैठकमा उपस्थित नभएका हुन्।

बहाल भएका एक सांसदले उक्त आमन्त्रणपत्र आफूकहाँ आइनपुगेको र आफूमाथि पार्टीले गरेको कारबाही तत्काल फिर्ता गरेमात्रै दलको बैठकमा सहभागी हुने बताए। उनले भने, ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएपश्चात् मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौँ। अहिले नै बैठकमा जाने भन्ने छैन। हामी आपसी छलफलमै छौँ।’

पार्टीको ह्वीप विपरीत फ्लोरक्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरी कारबाही गरेको थियो। तर, सर्वोच्च अदालतले उनीहरूलाई बहाल गरिदिएपछि संसदीय दलको आजको बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि ज्वाला बाहेक आफूहरू बैठकमा सहभागी नभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए।

त्यस्तै, सभामुख राजबहादुर शाहीले बहाल चार सांसद एमाले नै भएको प्रदेशसभामा हिजोको बैठकमा घोषणा समेत गरेका छन्। त्यस्तै, सभामुख शाहीले बहाल चार सांसदहरूलाई सदनको प्रतिपक्षकै सिटमा बस्न कुर्सी समेत व्यवस्था गरिसकेका छन्।

बैठकमा ज्वाला सहभागी भएपछि एमाले कर्णालीका कार्यकर्ताहरूले पार्टी एक हुने आशा राखेका छन्।

बैठकले सरकारको नीति तथा कार्यक्रमबारे धारणा तय गर्नेछ भने बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.