|

लमजुङ : दूधपोखरी गाउँपालिका वडा नं १ मा मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग तथा ठूलाबारी, माझीबारी कृषक समूहको साझेदारीमा सो वडाका सबै घरपरिवारलाई समेट्ने गरी मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रम अन्तरगत उक्त वडामा फलफूल खेती र बाख्रापालन कार्यक्रम रहेको छ। चालु वर्ष २०७७/०७८ बाट सञ्चालन भएको उक्त कार्यक्रमका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका कृषि प्राविधिक अनिल तिबारीले जानकारी दिए।

यस्तै, कृषक समूहबाट ६ लाख रुपैयाँ गरी ८५ प्रतिशत भूमि मन्त्रालय र १५ प्रतिशत कृषकको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक तिबारीले बताए। कार्यक्रमको सुरुवाती चरणमा फलफूल खेती कार्यक्रम अन्तर्गत एभोकाडो र टिमुरको बिरुवा वितरण गरिएको छ। कृषि समूहले सल्यानको नर्सरीबाट उन्नत जातको ४ हजार टिमुरको बिरुवा र ३ हजार एभोकाडोको बिरुवा खरिद गरी वितरण गरेको जनाएको छ।

समूहमार्फत् प्रत्येक घरले एक रोपनी जग्गामा फलफूल खेतीका लागी बिरुवा रोपिएको जनाएको छ। सो कार्यक्रममा दूधपोखरी-१ का १४१ घरपरिवार लाभान्वित भएका छन्। प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको उक्त मुख्यमन्त्री नमूना कृषि कार्यक्रम चार वर्षसम्म सञ्चालन हुनेछ।

प्रदेशबाट प्रत्येक वर्ष आवश्यक बजेट विनियोजन हुने र कृषक समूहको समेत लगानीबाट कार्यक्रमलाई प्रभावकारी र सफल बनाइ आर्थिक उपार्जनमा समेत वृद्धि गर्ने ठूलाबारी, माझिबारी कृषक समूहले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.