अस्थायी आश्रयस्थलमा व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन

|

चितवन : अविरल वर्षाका कारण चितवनको नारायणी र राप्ती लगायतका नदि तथा खोलाहरूमा बाढीले उग्र रुप लिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीमा आएको बाढीले खतराको तह नाघेपछि खतराको घण्टी बजाइएको छ। 

देवघाटमा गरिएको मापन अनुसार बाढीले खतराको तह नाघेको हो। पछिल्लो मापन अनुसार देवघाटमा बाढीको सतह ८.३२ मिटर नाघिसकेको छ। यहाँ बाढीको सतह ८ मिटरलाई खतराको तह मानिन्छ।

नारायणीमा बाढीको सतह अझै बढ्दो छ। बाढीको सतहले खतराको तह नाघेपछि भरतपुर महानगरपालिका २३, २७ र २५ मा नदि कटानको जोखिम बढेको छ। केहि स्थानमा नदीले कटान सुरु गरिसकेको छ। 

जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले नदि कटान र डुबान भएको स्थानमा तत्काल तटबन्धन गर्ने र डोजर, एक्साभेटर र क्रेन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

खोज तथा उद्धारका सामग्री स्थानीय तहले व्यवस्था गर्ने र सडक अवरुद्ध भए सुरक्षा निकायले तत्काल खुलाउने निर्णय भएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। 

आपतकालिन औषधिको व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई भनिएको उनले बताए। त्यसैगरी अस्थायी आश्रयस्थलमा व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.