|

सम्पन्न परिवारमा जन्मेर, पुँजीवादी शिक्षादीक्षा समेत लिएर, पूर्वीय दर्शनका ज्ञाता वास्तविक श्रमिक जीवन बिताउने, कर्म योगीको संयुक्त नाम हो रुपचन्द्र विष्ट। जसको जन्मले समाजले केही पायो। तर‚ समाजलाई कुनै बोझ नदिई रुपचन्द्र सदाको लागि शारीरिक रुपमा बिदा हुनुभयो।

बुद्धको  मुख्य कुरा ‘वुद्धम् शरणाम् गच्छामि, धम्मम् शरणम् गच्छामि,संघम् शरणम् गच्छामि’। ज्ञान वा ‘थाहा’को शरणमा जान सकौं, धर्मको शरणमा जान सकौं। लिनु पाप, दिनु धर्म, लेनदेन बराबर व्यापार, न धर्म न पाप। समाजको शरणमा जान सकौं। यो व्याख्या रुपचन्द्रले व्यापक रुपमा गर्नुभएको छ। वहाँ भन्नुहुन्थ्यो‚ यी तीन वाक्यमा पूरै कुरा समाजलाई बुद्धले दिएर आफू अर्पित भएर दिए। 

रुदाने भन्नु हुन्थ्यो ‚ ‘मलाई मान्नेहरू मेरा कुकुर बन्दछन्। मेरा विरोधीलाई मान्नेहरू विरोधीका कुकुर बन्दछन्। त्यसैले कसैलाई नमान‚ आफैं जान। जान्यता र मान्यताका युद्ध चलिरहन्छ। मान्यतातन्त्रले दास र जान्यतातन्त्रले मुक्त मानव बन्न सकिन्छ। थाहा त्यही जान्यताको दर्शन हो। जति धेरै ‘थाहा’ उति धेरै मानवता। जीविका गर्ने र जन्माउने मात्रको जीवन पशुत्व हो।’ 

नेपाल कम्युनिष्ट पार्टीबाट राजनैतिक यात्रा सुरु गरेका रुपचन्द्र जीवनको अन्तिम क्षणसम्म पनि यो दर्शनबाट विचलित हुनुभएन। बोली र व्यवहार उस्तै, दर्शन, सिद्धान्त र दृष्टिकोणमा सधैं अडिग रहन सक्ने। जस्तो दुःखमा पनि सिद्धान्त छोडेर सम्झौता नगर्ने वहाँको अविचलित ‘थाहा’ दर्शनलाई अहिलेको पुस्ताले अध्ययन गर्ने बेला भएको छ।

संसारका धर्म गुरु, योगी, विद्रोही र क्रान्तिकारीहरूको संयोजन सूत्र एवं प्रगतिशील व्याख्याकार र प्रयोगकर्ता रुपचन्द्र विष्ट हुन्। आमनिर्वाचन कसरी गर्ने? उम्मेदवार कसरी हुने? उम्मेदवारको चुनावी नारा के हुने? चुनाव प्रचार कसरी गर्ने?  यावत कुरा अध्ययन गरिएमा अहिलेको विकृतपूर्ण राजनैतिक फोहोरलाई सुधार गर्न सकिन्थ्यो। जीवन कसरी जिउने?  समाजमा के दिने? समाजबाट कति लिने ? कमाइ कति गर्ने? किन गर्ने? यावत कुरा रुपचन्द्रबाट यो पुस्ता र भविष्यको पुस्ताले सिक्न सक्छन्। 

रुपचन्द्र व्यक्ति हैसियतमा बोल्दा आफ्नो नाम रुदाने (रुपचन्द्र-दामन-नेपाल)  भन्न रुचाउनु हुन्थ्यो। त्यहीअनुसार उहाँलाई प्राय सहकर्मीहरूले रुदाने भनेर बोलाउँथे। त्यसैले म यहाँ उहाँलाई रुदाने भनेर नै सम्बोधन गर्छु।

रुदाने भन्नु हुन्थ्यो‚ ‘मलाई मान्नेहरू मेरा कुकुर बन्दछन्। मेरा विरोधीलाई मान्नेहरू विरोधीका कुकुर बन्दछन्। त्यसैले कसैलाई नमान‚ आफैं जान। जान्यता र मान्यताका युद्ध चलिरहन्छ। मान्यतातन्त्रले दास र जान्यतातन्त्रले मुक्त मानव बन्न सकिन्छ। थाहा त्यही जान्यताको दर्शन हो। जति धेरै ‘थाहा’ उति धेरै मानवता। जीविका गर्ने र जन्माउने मात्रको जीवन पशुत्व हो।‘

‘थाहाको ठिक उल्टो भ्रम हो। भ्रममा बाँच्दछन् राक्षसीतन्त्र। मान्छेभित्र सुतिरहेको गज्जबको मान्छे ब्यूँझाउने युक्ति थाहा। थाहा र भ्रमको कुस्ती चल्छ। युद्ध हुन्छ। जति धेरै थाहाको जित भयो उति धेरै इन्साफ विकास प्रगति। भ्रमको जित भए अन्याय अत्याचार भ्रष्टाचार। बुद्ध दर्शनको सार पनि यही हो। ज्ञानमा जान सकूँ, थाहामा जान सकूँ।’

‘ज्ञान वा थाहा आफैंले पाउनुपर्छ। अरुले पाएको थाहाले आफूलाई आनन्द मिल्दैन। मनमा शान्ति‚ जीवनमा आनन्द सत्य ज्ञानबाट नै हुन्छ। के हो सत्य? आफू वा अरु कोही नमिसिइ चिज वा वस्तुलाई जस्ताको जस्तै चिन्नु जान्नु सत्य हो। सत्य ज्ञानको नाम हो। सत्य खेती गर्नुपर्छ। भ्रम आफैं उम्रन्छ । जसरी खेती लगाउनुपर्छ झार आफै उम्रन्छ।’

थाहा सम्बन्धमा रुदाने

जीविका मात्र खोजिरहेको व्यक्तिको मनस्थितिमा एक विद्रोह गर्न, तिमी त मान्छे पो हौ‚ इमान विवेक, सत्य र ठिक तिम्रा विषय, यो तिमीले नलिए कस्ले लिने? भनेर उसको विरोधमा उसकै हजुरमा एक उजुर थाहा आन्दोलनको प्रारम्भ गरियो। थाहा दुई प्रकारका छन्-  प्राणी थाहा, मान्छे थाहा। जीविका गर्ने-जन्माउने-जोगिने ‘प्राणी थाहा’। जुन सहज, स्वचालित, सरल र स्वभाविक रुपमा पनि चल्छ। तर‚ सत्य थाहा पाउँदै, बोल्दै, सुन्दै जानेलाई मद्दत गर्नु ‘मान्छे थाहा’।

यसका लागि अभ्यास, साधना, तपस्या गर्नुपर्छ। सत्य ज्ञानको नाम, ठिक कामको नाम ‘थाहा’ यी दुवैको संमिश्रित नाम हो। जुन आफैंले पाउनु पर्छ। अनुभव, अनुभूति, साक्षात्कार गरेर मात्र थाहा हुन्छ।

वैज्ञानिक विषयमा अनुभव गरेर, ज्ञानको विषयमा अनुभूति गरेरमुक्तिको विषयमा साक्षात्कार गरेर  थाहा’ प्राप्त हुन्छ। बुद्ध‚ मार्क्स‚ लेनिन‚माओत्सेतुङ‚ महात्मा गान्धी  थाहा पाएर महामानव बने। कयौं मान्छे सास फेर्ने लास भएर गए।

रुदाने क्रान्तिकारी प्रगतिशील योद्धा हुनुहुन्थ्यो। सानै उमेरमा परिवारबाट विद्रोह गरेर कम्युनिष्ट पार्टीमा सामेल भई कमरेड पुष्पलालसँग नजिक भएर काम गर्नुभयो। कम्युनिष्टभित्र विभिन्न चिरा परेपछि उहाँ कुनै पनि कम्युनिष्ट पार्टीमा सामेल हुनु भएन।

रुदानेले जीवनको अन्तिम अवस्थामा (२०४७) नेकपा (जनमुखी)लाई दिशानिर्देश मात्र गर्नुभयो। किनकि‚ यो पार्टी उहाँका सहकर्मीहरूले उहाँको अनुमतिमा स्थापना गरेका थिए।

२०५१ मा संयुक्त जनमोर्चाको चुनाव चिह्न मात्र प्रयोग गर्नुभयो। तर‚ दलको सदस्य हुनुभएन। उहाँ जनमुखी राजनीतिको सूत्राधार गरेर दुईपटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभएको थियो।

जनमुखी राजनिति र रुदाने

रुदानेकै भनाइमा ‘आर्जन गर्ने किसान मजदुर वा श्रमिकहरू, कमाई खाने, सामन्त र पुँजीपतिहरू, यस्तो व्यवस्था सरकारले चलाउने, त्यसैमा प्रहरी-सैनिक बनेर श्रमिकले नै बल दिने, बुद्धिजीवीले जानी नजानी यो सञ्चालन गर्ने। यी हुन् हाम्रा राजनैतिक व्यवस्थित जीवन। यिनका नतिजा हुन् शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार आदि अनेक अपराधहरू। यसमा कोही दोषी छैनन्। यथार्थ त भइरहेकै मात्र हो। त्यसैले जनमुखी राजनीति सूत्र रुपमा यस्तो भन्न सकिन्छ।’

‘कलिलाबाट विद्रोहकारी परिवर्तन, श्रमिकबाट क्रान्तिकारी परिवर्तन, बुद्धिजीवीबाट बौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन र नारीबाट सामाजिक परिवर्तन पाइने मुख्य मुहानहरू भएकाले जनमुखी राजनीति सञ्चालन परिचालन गर्दै स्वचालनमा पुर्‍याऔं। सत्तामुखी राजनीतिमा शोषणका निम्ति शासन, शासनका निम्ति शोषण हुन्छ भने जनमुखी राजनीतिमा अधिकारका निम्ती राजनीति तथा समाजहितका निम्ति विकास, विकासका निम्ती समाज हुनुपर्दछ। यही चलाऔं।’

रुदानेले राजनीति र मान्छे ब्यूँझाउने अभियानमा परिवार त्याग्नुभयो। नातागोता‚ आफन्तबाट अलग रहनुभयो। यो एक प्रकारको तपस्या थियो। सांसद भएर पनि उहाँ छाप्रेसँग जीवन बिताउनु भयो। सडकका भरिया नै उहाँका अन्तिम क्षणका साथी भए। परिवारका निम्ति जस्तोसुकै अपराध गर्ने, जस्तो सुकै राष्ट्रघात गर्ने‚ आफन्तका निम्ति देशको ढुकुटी र राजनीतिक अधिकार प्रयोग गर्ने हाम्रो अहिलेको संस्कृतिमा रुदानेलाई सम्झन सक्ने उही श्रमजीवी मात्र हुन्।

त्यसैले २०३९ सालमा रुदाने केही प्रश्न राख्नु भयो- ‘जात ठूलो कि जनता? नाता ठूलो कि न्याय? स्वार्थ ठूलो कि सत्य?’ के अबका नेताले यी प्रश्नको जवाफ व्यवहारमा देलान्? आजका युवाले प्रश्न सोध्ने भएको छ। राजाको निर्दलीय शासन थियो। श्री ३ तन्त्र पिपासुहरूको मन्त्रिपरिषदमा हालीमुहाली थियो। देश शान्तिको नाममा मुर्दाघर जस्तो थियो। व्यवस्था अस्तव्यस्त थियो। राजा देश‚ सरकार र व्यवस्थाका अगुवा थिए। रुदानेले एक पर्चा सार्वजनिक गर्नुभयो। जसमा राजा‚ व्यवस्था‚ सरकार र समाजको चित्रण गर्नुभयो।

‘केटाकेटी बिग्रे आमा-बावु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी‚ कर्तव्यमुखीबाहेक पछुवा भगुवा सारा दोषी।’

आजको पुस्ताले यो भनाइको व्याख्या गर्दा के हुन्छ आजको परिप्रेक्षमा? यसको जवाफ खोज्ने बेला आएको छ। के जनता बिग्रेका छैनन् अहिले? के सरकार ठिक छ अहिले?  के व्यवस्था सप्रेको छ अहिले? अहिलेका पछुवाहरू ठिक छन्? के अहिलेका भगुवाहरू (व्यवस्थाबाट भागेर टाढा बसेकाहरू) ठिक छन्? यसको समालोचना वा विश्लेषण गर्न जरुरी छैन?

रुदाने यस्तो अतुलनीय व्यक्तित्वको नाम हो ‚ जसलाई अहिलेका नेता कोहीसँग पनि दाँज्न सकिँदैन। अहिलेका सबै नेता सरदर उस्तै हुन्। आचरण‚ व्यवहार‚ रहनसहन , विचार‚ सिद्धान्त, कार्यशैली आदिमा। मैले २०३० देखि २०५६ सम्मको सम्बन्ध र २०३८ देखि २०५६ सम्मको राजनीतिक संलग्नताबाट हेर्दा उहाँ अहिलेसम्मका नेतामध्ये बेग्लै, अलग सिद्धान्तनिष्ट‚ कर्मयोद्धा विद्रोही तथा क्रान्तिकारी हुनुहुन्थ्यो।

कयौंले रुदानेलाई गैरकम्युनिष्टको रुपमा परिचित गराउने प्रयास गरेको पनि देखियो। हालका राजनीतिक पार्टी नाममा कम्युनिष्ट भए पनि काममा वा सिद्धान्तमा देखिँदैनन्। अहिलेका अधिकांश कम्युनिष्ट नेता पनि खास कम्युनिष्ट हो जस्तो मलाई लाग्दैन। तर‚ रुदानेलाई म हिजोदेखि आजसम्म कम्युनिष्ट देख्छु। रुदाने जडसूत्रवादी कम्युनिष्ट होइनन्। संशोधनवादी कम्युनिष्ट पनि होइनन्। यर्थाथमुखी‚ कर्तव्यमुखी कम्युनिष्ट हुन्।

२०४७ र २०५६मा रुदानेको नारा

जनवादीकार्यकर्ता- जिन्दावाद

समाजवादी नेता- जिन्दावाद

साम्यवादी पार्टी- जिन्दावाद

इन्कलाव- जिन्दावाद

२०५६ मा रुदानेको एक पर्चा प्रकाशित भयो। जसले मृत्यु वर्षमा पनि उहाँको राजनैतिक अडान देखिन्थ्यो।

‘निशाना एउटै

माओवादीका दर्शन, शोषणरहित समाज विकास गर्ने हो।

द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो।

श्रमलाई प्रधानता दिने दृष्टिकोण हो।

यहाँसम्म मेरो पनि उही उही हो।’

लेखक रुपचन्द्र विष्ट स्मारक समिति,नेपालका अध्यक्ष  हुन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.