|

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बिहीबार महानगरको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। महानगरले प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत बजेट प्रस्तुत गरेको छ।

जसमा कार्यालय सञ्चालनका लागि ४६ करोड ७० लाख ९२५ रुपैयाँ विनियोजन गरिएको छ। यस्तै पुँजीगततर्फ ३ अर्ब ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन्।

राजश्व तथा स्रोतको तुलनामा महानगरले ठूलो आकारको बजेट सार्वजानिक गरेको हो। अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ।

बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ। 

महानगरका क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

महानगरका वडास्तरीय योजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ।

यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.