‘स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुन्छ’

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन प्रयासरत विपक्षी गठबन्धन सडक संघर्षमा उत्रिने भएको छ। पहिलो पटक पुस ५ गते संसद् विघटन गर्दा पार्टीगत रुपमा सडक संघर्षमा उत्रिएको विपक्षी दलहरू अहिले सामूहिक रुपमा उत्रिने भएका हुन्। 

सर्वोच्च अदालतबाट पुनःस्थापित संसद् प्रधानमन्त्री ओलीले दोेस्रो पटक पुनः विघटन गरेपछि विपक्षी दलहरू सामूहिक रुपमा सडक संघर्षमा जान एकमत भएका हुन्। पहिलोपटक संसद् विघटन र संवैधानिक नियुक्तिको विषयलाई लिएर नेपाल बन्दसमेत गरेका थिए। 

तर, कोरोना भाइरसको दोस्रो लहरले गर्दा देश निषेधाज्ञामा रहिरहेको बेलामा जेठ ८ गते प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेका थिए। कोरोना संक्रमण केही साम्य भएपछि निषेधाज्ञा खुकुलो बनाएसँगै देशभर सरकारविरुद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्न लागेको हो।

कोरोना संक्रमण जनस्तरसम्म व्यापक रुपमा फैलिएर केही कम भएलगत्तै राजनीतिक दलको सडक संघर्षले फेरि संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन्। कोरोना संक्रमणदर केही कम भए पनि दैनिक दुई हजारभन्दा धेरै संक्रमित थपिरहेका छन् भने एक सय हाराहारीले दैनिक संक्रमणकै कारणले ज्यान गुमाइरहेका छन्।

कोरोना बाढी पहिरोको कारणले जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा राजनीतिक दलको सत्ता स्वार्थको आन्दोलनले कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने अनुमान गरिएको छ। 

यसअघि पनि ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिदै लाखौँको संख्यामा जनप्रदर्शन गरेका थिए। 

दोस्रो पटक संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन बनेको छ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्षमा जाने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

‘कोरोेना संक्रमणको जोखिम कायमै छ। स्वास्थ्य मापदण्ड पालना गरेर संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालन कार्यक्रम अगाडि बढाउछौं,’ उनले भने।

संसद् विघटनविरुद्ध मुद्दा सुनुवाइ प्रक्रिया अघि बढेपछि सडक संघर्ष सुरु गरेपछि अदालतलाई दबाब दिन खेल मात्रै भएको विपक्षी गठबन्धनको आरोप छ। 

सडक संघर्षको कार्यक्रमबारे तयारीको लागि गठबन्धनले कार्यदल समेत गठन गरेको छ। कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका नेता देव गुरुङ र जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल निर्माण गरेको थियो। 

कार्यदलले अब विरोधका कार्यक्रमलाई कसरी अगाडि बढ्ने भन्नेबारे कार्ययोजना बनाएर अघि बढ्ने केन्द्रित कार्यदल सदस्यसमेत रहेका जसपा नेता श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘सडक संघर्षका कार्यक्रम बनिसकेको छैन, सैद्धान्तिक रुपमा सहमति भएको हो। ओलीको असंवैधानिक कदमविरुद्ध पहिल्यैदेखि यही कार्यदलले काम गर्दै आएको थियो। अहिले पनि यसकै निरन्तरता हो।’

कोरोना संक्रमण जोखिम कायमै रहेकाले पूर्ण रुपमा  स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सडकमा कार्यक्रम हुने उनको भनाइ छ। आजबाटै भ्रातृ संगठनले सडक संघर्षको कार्यक्रम सुरु गरिसकेको उनले बताए। 

‘हामीले अदालतलाई दबाव दिनको लागि सडकमा निस्कन लागेको होइनौँ। प्रतिगमनविरुद्ध सारा जनता छन्’, जसपा नेता श्रेष्ठले भने।

केन्द्र, प्रदेश, जिल्ला पालिकाहरूले सामाजिक दूरी कायम गरेर आफ्नो ठाउँको विषेशताअनुसार कार्यक्रम जारी रहने उनले बताए। जुलुस नभएर सरकारको विरोधका लागि अन्य विभिन्न कोणमा सडक संघर्षको कार्यक्रम हुने श्रेष्ठको भनाइ छ।

कोरोनाको महामारी कम भएसँगै आफूहरूको सडक संघर्षको कार्यक्रमको स्वरुप फेरिँदै जाने श्रेष्ठले बताए।

राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री ओलीको कदमले देश र राष्ट्रियता नै धरापमा परेपछि जोगाउन विपक्षी गठबन्धन एकजुट भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए।

‘देशमा कोरोना महामारी, बाढी पहिरोको डुबान तथा जनधनको क्षतिबारे बेवास्ता गरेर प्रधानमन्त्रीको अहंकारी र स्वेच्छाचारी निर्णयले देश र व्यवस्था संकटमा परेको छ’, देउवाले बिहीबार आयोजित सम्पादकसँगको छलफलमा भने, ‘राष्ट्रियतामा समेत आँच आउने काम भएको छ। यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी छ।’

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउन संयुक्त मोर्चाका साथ अग्रसर भएको देउवाको भनाइ छ।

विपक्षी गठबन्धन लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनःस्थापनाको लागि सडकमा गएको प्रधानमन्त्री ओली निकटका नेता गोकुल बाँस्कोटाले आरोप लगाए।

विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली नै असफल बनाउनतिर लागेको उनको भनाइ छ। संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी सांसद् र सरकारको सम्बन्ध नभएको उनको जिकिर छ। 

विपक्षी सडकमा तर किन? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनःस्थापनाका लागि सडकमा हो?’ उनले ट्विटमा लेखेका छन्, ‘संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्ध रहेन। त्यसो हो भने विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.