|

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ। 

कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ। सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका विषयमा बहस भएको थियो। 

रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको विपक्षले बहस सुरु गर्ने सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए। 
सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ३० वटा रिट दर्ता भएका छन्। 

अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दर्ता गरेको रिटमाथि बहस भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.