|
फाइल फोटो

कास्की : बर्सेनि वर्षातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ।

वर्षातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न पोखरा–२६, २७, २९, ३० र ३२ का वडाध्यक्षसहित सरोकारवालाबीच पानीको निकासलाई व्यवस्थित गर्ने सहमति गरिएको हो।

बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा–३२ का अध्यक्ष शिवजी लामिछानेका अनुसार विजयपुरदेखि आउने बगादी खोलाको पानी पोखरा–२६ डाँडाको नाकस्थित प्रहरी चौकीको दक्षिणतर्फ हुँदै सेती नदीमा कटाउने सहमति बनेको छ। त्यस्तै, पोखरा–३० स्थित बाँधाको रह क्षेत्रबाट पनि पानी कटाउने गरी वडा कार्यालयसँग छलफल भइरहेको उनले जानकारी दिए।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा बर्सेनि समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ। यस वर्ष केही दिनअघि मात्रै लगातारको वर्षासँगै नहरमा पानी बढेपछि यस क्षेत्रका टाँडी, कालिका चोकलगायत स्थानका घर डुबानमा परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.