|

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या ५० हजारमा झरेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ संक्रमित थपिएका छन्।

 योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ। संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक संक्रमितहरूको संख्या घट्दै गइरहेको छ।

भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरूले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन्।

यो संख्या पनि घट्दै गएको देखिएको छ। भारतमा कुल संक्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाबाट संक्रमणमुक्त भएको तथ्यांक छ। कुल संक्रमितमध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १.९४ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका छन्। भारतमा अहिलेसम्म ३२ करोड १७ लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.