अन्तिम आठका खेल शुक्रबारबाट

|

ललितपुर : आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

गोदावरी नगरपालिकाको-१० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा बुधबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले हराउँदै गोदावरीको टिम बिले अन्तिम आठमा स्थान बनाएको हो।​

बुधबार नै सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टीमै ४–२ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो।   

आयोजक गोदावरी बि र ललितपुर महानगरबीचको खेल निर्धारित ९० मिनेटसम्म २–२ गोल भएको थियो। खेलमा सुरुवाती अग्रता ललितपुर महानगरले लियो। 

५३ औँ मिनेटमा निरोज महर्जनको गोलमा ललितपुर अगाडि बढ्यो । तर खेलको ५७ औँ मिनेटमा गोदावरीले गोल गर्दै खेललाई बराबरीमा ल्यो। ५७ औँ मिनेटमा राजन मर्हजनले गोदावरीका लागि गोल गरे । त्यसको २ मिनेटमा नपाउँदै खेलको ५९ औँ मिनेटमा फेरि महानगरका निरोजले नै गोल गरे।

२–१ ले अगाडि रहेको ललितपुर महानगरको अग्रता ८३ मिनेटसम्म रह्यो। खेलको ८४ औँ मिनेटमा अनिल लामा बोम्जनले बराबरी गोल गरे।​

पेनाल्टी सुट आउटमा गोदावरी बि का लागि श्रीराम थापा, प्रज्वल श्रेष्ठ , राजन महर्जन, मनिष तिमल्सिना, अनिल लामा बोम्जनले गोल गर्दा महानगरका निरोज महर्जन, सुबिबेक मल्ल र आर्यन थापा मगरले गोल गरे।

महानगरका रोहित गिरीले गरेको प्रहार गोल हुन सकेन। यो खेलमा गोदावरीका अनिल लामा बोम्जन उत्कृष्ट खेलाडी भए। उनलाई ललितपुरका मेयर चिरीबाबु महर्जनले ट्रफी र नगदसहित सम्मान गरे।

यो खेलअघि गोदावरी-४ कुमारी सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा आगोले पोलेर मृत्यु भएका शंकर पहारी र रमेश पहारीको संझनामा एक मिनेट मौनधारण गरिएको थियो।

अर्को खेलमा काठमाडौं महानगरले बुढानिलकण्ठलाई पेनाल्टिमा ४–२  अन्तरले पाखा लगायो। ९० मिनेटसम्मको खेलमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको हो।

प्रतियोगितामा गोदावरी बि, काठमाडौं महानगर, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका अन्तिम ८ मा पुगेका छन्। 

अब शुक्रबार दिउँसो साढे १२ बजे नागार्जुन र चन्द्रागिरीबीच खेल हुनेछ। नागार्जुनले कोन्ज्योसोम गाउँपालिकालाई ३–० ले हराएर अन्तिम आठमा पुगेको थियो। 
यस्तै दिउँसो साढे ३ बजे महालक्ष्मी र दक्षिणकालीबीच प्रतिस्पर्धा हुनेछ।

महालक्ष्मीले गोदावरी ए लाई हराएर तथा दक्षिणकाली सोझै बाइ पाएर अन्तिम आठमा पुगेका हुन्।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन्। यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.