विपक्षीसँगको बाचा, तर एकताको प्रयास बिफल बन्ने संकेत

|

काठमाडौं : नेकपा एमालेको विभाजन रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लचक भएका छन्। नेता माधवकुमार नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने मागलाई सम्बोधन गर्दै एकता जोगाउन चाहना देखाएका छन्। 

नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको रुपान्तरण गर्ने माओवादी केन्द्रसँगको पार्टी एकता अघिकै संगठनलाई अगाडि बढाउने ओली सहमत भएका हुन्। 

असार १६ गतेको लागि बैठक बोलाएको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले थाहाखबरलाई जानकारी दिए। 

त्यसो त ओली पक्षका नेता विष्णु रिजालले पनि अब महाधिवेशन आयोजक कमिटी नरहने स्वीकार गरिसकेका छन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘अब नेकपा एमालेमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना रहँदैन। साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ।’

पार्टी एकताको लागि सबैले अधिकतम लचकताका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ। 

माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव 

पार्टी एकतालाई जोगाउन स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउनसमेत प्रस्ताव गरेका छन्। 

‘उहाँ (गुरुङ)ले हिजाको पार्टीको अनौपचारिक बैठकमा नेता नेपाललाई पार्टीको कार्यकारी अधिकार दिएर जाऔँ भन्ने प्रस्ताव राख्नुभएको थियो’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसमा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया जनाउनु भएको छैन।’

गुरुङको प्रस्तावमा अन्य नेताहरूले समेत त्यसबारेमा नबोलेको ती नेताले सुनाए। 

‘हामीले पार्टी जनताको चाहाना अनुसार एकता जोगाएरै जानुपर्छ भनेर लागिरकेको छाैं। तर, उहाँहरू पार्टीको निर्णयभन्दा सधैं बाहिर जानुहुन्छ’, ती नेताले भने, ‘सबैलाई पार्टीमा फर्काउने प्रयास गरिरहेका छौँ। तर, माधवजी धेरै पर पुगिसक्नुभएको छ। हामीले फर्किने सम्भावना कम देखेका छौँ।’  

एकतालाई हुन खालको गतिविधि छैन

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नेता नेपाल समूहको गतिविधि एकतातर्फ नभएको बताउँछन्। 

‘उहाँहरू विपक्षीलाई काँधमा राखेर आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूको गतिविधि त बिल्कुलै पार्टी एकताको पक्षमा छैन। तर, हामीले एकताको लागि हर प्रयत्न गरिरहेका छौँ।’

पार्टी एकतालाई केन्द्रमा राखेरै अध्यक्ष ओलीले जेठ २३ गते ६ बुँदे प्रस्ताव राखेको उनले बताए। 

‘हामी अझै एकता जोगाएरै जाने पक्षमा छौँ। आस मारेका छैनौँ। तर, अब नताहरू के गर्नुहुन्छ। आन्दोलनलाई र व्यक्तिगत जीवनलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला। जनताको चाहना एमाले विभाजन होइन। एकताकै पक्षमा छ’, ज्ञवाली भने। 

पार्टीको विषयमा असार १६ गतेको बैठकमा गम्भीर निर्णय हुन सक्ने उनको भनाइ छ। सर्वोच्च अदालतले दशौँ महाधिवेशनबारे उठाएका प्रश्नबारे चित्त नबुझेर आफूहरू पुनरवलोकनमा गएको समेत बताए। सर्वोच्च अदालतले दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो। 

नेता नेपाल समूहले पार्टीको अनुशासनविपरीत गरेर नै बाध्यात्मक स्थिति आएकाले कारबाही गरिएको ज्ञवालीले सुनाए। 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल समूहबीचको विवादको कारणले नेकपा एमाले विभाजनको डिलमा पुगेको छ। संस्थापन पक्ष एकपछि अर्को निर्णय गर्दै गर्दा नेता नेपाल समूह विपक्षी मोर्चामा हातेमालो गर्दै बढिरहेका छन्। 

तर, शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुग्दै गर्दा दोस्रो तहका नेताहरू पार्टी एकताको पहल गरिरहेका छन्। 

माधव पक्ष नजाने 

ओलीले बोलाएको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता नेपाल समूह नजाने भएको छ। पार्टीलाई ०७५ जेठको अवस्थामा फर्काउन माग भइरहेको बेलामा अदालतले प्रश्न उठाएको आयोजक कमिटीको बैठकमा नजाने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

हामी पार्टी एकताको पक्षमा छौँ। तर, उहाँ पटक पटक एकलौटी र मनलाग्दी निर्णय गर्दै हुनुहुन्छ उनी भन्छिन्, 'हामीले पार्टीलाई पार्टी एकतापूर्वको संगठनलाई अगाडि बढाएर उहाँबाट भएका गलत कदम सच्याउनुपर्ने माग गरेका छौँ। तर, उहाँ अझै एकताको पक्षमा देखिनुभएको छैन। 

ओलीले एकपछि अर्को गर्दै अल्मल्याउने खेल गरिरहेको हुनाले अब ओलीको षडयन्त्रमा नफस्ने उनको तर्क छ। 

गठबन्धनसँगको बाचा

ओली बहिर्गमनको प्रयासरत नेता नेपाल समूह विपक्षी गठबन्धनमा सामेल छन्। पार्टीको प्रधानमन्त्री हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार तयार छन्। 

शनिबार आयोजित पत्रकारसँगको छलफलमा देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालले गठबन्धन नतोड्ने बाचा गरे। 

आफ्नो अडानबाट हत्तपत्त पछि नहट्ने नेता नेपालले भनेका थिए, ‘ओलीले आफ्नो कोर्स करेक्न नगरी मिल्ने सम्भावना छैन। माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन। आइसक्यो। शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुहोस्। तपाईं भइहाल्नुहोस् भन्ने कुुरा आएको छ। माधव नेपाल धोका दिने मान्छे होइन।’ 

उनले ओलीइतर गठबन्धनलाई धोका दिएर अघि बढ्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए।

विपक्षी गठबन्धनको बाचामा अडिग रहेको भए पनि दुवै पक्षका दोस्रो तहका नेताहरू एकताको बिन्दु पहिल्याउने प्रयासमा छन्। नेता नेपाल समूहका प्रभावशाली नेताहरू योगेश भट्टराई, गोकण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भूसाललगायत नेता एकताका पक्षमा दरिलोसँग उभिएका हुनाले दबाब थपिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.