बस्ती स्थानान्तरणमा ध्यान गएन

|

मकवानपुर : मकवानपुरका १० स्थानीय तहका विभिन्न ३४ स्थान विपद्को उच्च जोखिममा छन्।

बर्खा सुरु भएसँगै विभिन्न जिल्लामा विपद्जन्य घटनाहरू भइरहेका छन्। मकवानपुरले पनि हरेक वर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिम वहन गरिरहेको छ। 

यस वर्ष पनि जिल्लाका विभिन्न स्थानीय तहले दुई हजार एक सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अति जोखिममा रहेका जनाएका छन्। तीमध्ये करिब एक हजार तीन सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका स्थानीय तहका प्रतिनिधिहरूको भनाइ छ।  

दुर्गम राक्सिराङ् गाउँपालिकाको महाभारत भीरमा हाल ध्वजा फाटिएको छ। वडा नम्वर–४ मा पर्ने भीर पनि चर्किँदै गएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। गाउँपालिकाको ९ वटै वडा विपद्को जोखिममा भए पनि ९ नम्वर वडा सबैभन्दा बढी जोखिममा रहेका अध्यक्ष मल्लले बताए।

वडा नम्बर ९ को खैराङमा २०७२ सालको भूकम्पले जमिन पुरै चर्किएको भन्दै पुनर्निर्माण प्राधिकरणले सोही बेलामा बस्नको लागि उपयुक्त नरहेको बताएको थियो। गाउँपालिकाले जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि पहल गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको मल्लको गुनासो छ।

‘स्थानीय तहलाई जग्गा हेर्ने, बस्ती स्थानान्तरण गर्ने अधिकार छैन। त्यसैले सम्बन्धित निकायलाई भन्नुपर्छ। तर ६ वर्षदेखि हामीले जतिभन्दा पनि बस्ती सारिएको छैन’ मल्लले भने,‘कुनै पनि बेला त्यहाँ ज्यान जोखिममा पर्न सक्छ।’

यस्तै मनहरी गाउँपालिकाको वडा नम्वर ४ र ९ बाढीको उच्च जोखिम रहेको छ। करिब पाँच सय परिवार विपद्को त्रासमा बाँचिरहेका छन्।

गतवर्षको बर्खामा पनि बाढीले गर्दा स्थानीयबासी चार दिनसम्म विद्यालयमा बास बसेका थिए। दुई वटा वडाको केही परिवारलाई स्थानान्तरण गर्नुपर्ने भए पनि सरोकारवाला निकायले वास्ता नगरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए। उनले स्थानीय सरकारलाई बस्ती स्थानान्तरण गर्ने अधिकार नहुँदा नागरिक जोखिमका रहेको हेरेर बस्नु परेको बताए।

बकैया गाउँपालिकाको–६ वटा वडामा पहिरो जोखिम छ। फास्ट ट्रयाकको बाटो निर्माण भइरहेको गाउँपालिकामा बाटो निर्माण गर्दा सावधानी नअपनाएकाले ८० घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए। उनले गाउँपालिकाले गत वर्ष नै ८० परिवार पहिरोको उच्च जोखिममा रहेकोले व्यवस्थापन गर्न आवश्यक क्षतिपूर्ति दिन आग्रह गरेको भए पनि सरकारले त्यसमा चासो नदिएको बताए।

खनालका अनुसार ठूलो संख्यामा स्थानीयको ज्याननै जोखिममा हुँदा पनि सम्बन्धित निकाय मौन छ। मकवानपुरगढी गाउँपालिकाका आठ वटै वडामा बाढी र पहिरोको जोखिम छ। गाउँपालिका तटीय क्षेत्र भएकोले सबै वडामा जोखिम रहेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई बताउँछन्। २०५० सालमा ठूलो बाढीबाट प्रभावित बनेको थाहा नगरपालिका वडा नम्वर २ र ३ अहिले पनि बाढीको उच्च जोखिम छ।

वडा नम्बर २ को फाँट बजारको ६० घर संरक्षण गर्नुपर्ने नगरपालिकाका मेयर लवशेल विष्टको भनाइ छ। व्यवस्थित रुपमा घरहरू बनिसकेको हुँदा बस्ती स्थानान्तरण भन्दा पनि उनीहरूलाई संरक्षण गर्नुपर्ने उनले बताए। इन्द्रसरोवर गाउँपालिकाका १, २ र ७ नम्बरका करिब तीन सय घर जोखिममा छन्।

कैलाश गाउँपालिकाका ५, ८ र ९ नम्बर वडामा विपद्को उच्च जोखिम छ। सो गाउँपालिकामा प्रत्येक वर्ष चट्याङमा परेर स्थानीयले ज्यान गुमाउनुपरेको छ। बागमती गाउँपालिकाका तीन वटा वडाका ९० घर जोखिममा छन्।

भीमफेदी गाउँपालिकाका ३५ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ। गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाका अनुसार गाउँपालिकाका वडा नम्वर ५ र ६ खहरे र पहिरोको उच्च जोखिममा छ।

हेटौंडा उपमहानगरपालिकामा पनि बाढी र खहरेको उच्च जोखिम रहेको उपमहानगरकी उपमेयर मीना लामाले जानकारी दिइन्। उनले उपमहानगरको वडा नम्वर ४, ११, १५ र १६ को करिब पाँच सय घरपरिवार जोखिममा रहेको बताइन्। मकवानपुरमा ४० वर्षयता बाढी तथा पहिरो जस्ता विपद्जन्य घटनाको कारण ९० हजार भन्दा बढी परिवार प्रभावित बनेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकअनुसार एक सय पाँच पटक बाढी आउँदा मृत्यु÷बेपत्ता दुई सय ८७, ६० हजार ७४ जना प्रभावित, चारहजार चार सय ८८ घर क्षति, ६ हजार ९ सय ४१ हेक्टर जमिन क्षति र एक हजार ६ सय ९२ चौपाया गरि करिव दुई करोड ३४ लाख ७९ हजारको क्षति भएको छ।

त्यस्तैगरी पहिरोका ९२ घटना हुँदा तीन सय ५० जनाको मृत्यु तथा बेपत्ता, ३२ हजार सात सय ८३ जना प्रभावित परिवार, एक हजार चार सय ३७ घर क्षति, दुई हजार हेक्टर जमिन क्षति, ९ सय ४ चौपायालाई पारेको असरले ७३ लाख २५ हजार आर्थिक क्षति भएको कार्यालयले जनाएको छ।

२०७२ सालको भूकम्पपछि बाढी तथा पहिरोका घटना बढी हुन थालेका छन्। भूभाग कमजोर हुँदा बाढी पहिरोका घटना बढी हुन गएको प्रशासनले जनाएको छ। जिल्लाका अधिकांश भाग विपद्को जोखिममा रहेको जानकारी भएपनि विपद्बाट बच्ने तथा उद्धारका लागि पूर्व तयारी भने छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.