|

सल्यान : सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग साट्न बाध्य भएका छन्।

यो वर्ष झन्डै ३० क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ५ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान नवराज केसीले बताए।

बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्न बाध्य छौं।’

एक-दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उनको भनाइ छ। घरमा राख्ने ठाउँ नहुने र राखेको प्याज पनि कुहिने भएकाले धानसँगै भए पनि साट्ने  गरेको  उनले बताए।

धान र प्याज बराबर गरेर साटफेर गर्ने गरेको केसीले बताए। उनले भने, ‘एकै पटक ३०-३५ क्विन्टल हुने भएकाले घरमा राख्ने ठाउँ पनि हुँदैन। घरमा राख्ने हो भने पनि कुहिएर फाल्नुपर्ने भएकाले धानसँगै साट्दै आइरहेका छौं।’

५० क्विन्टल प्याज उत्पादन गरेकी कोकिला विकले पनि बिक्री नभएपछि धानसँगै साटेको बताइन। कोरोना भाइरसका कारण गाडी र बजार सबै बन्द भएपछि सस्तोमा प्याज बेच्नु परेको उनले गुनासो गरिन्। भनिन्, ‘गाउँमा सबैभन्दा बढी मैले उत्पादन गरेकी हुँ। १ सय २० बोरी प्याज भएको थियो, सबै धानसँग साटफेर गरे। अब ५/६ क्विन्टल मात्र होला घरमा।’

गत वर्ष प्याज कुहिएर आम्दानीशून्य भयो, यो वर्ष बिक्री नभएर समस्या भएको उलने बताइन्। विकले प्याजबाट जीविकोपार्जन गर्दै आए पनि हाल दैनिक गुजारा चलाउन समस्या भएको बताइन्। 

नाम्राका ६० घरिवारले व्यवसायिक प्याज खेती गर्दै आइरहेका छन्। १ सय ३० रोपनीभन्दा बढी क्षेत्रफलमा नाम्राका किसानले व्यवसायिक प्याज खेती गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.