|

काठमाडौं :  मनसुनी वायुको सक्रियताका कारण काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनीका सबैजसो स्थानमा पानी परिरहेको हो। 

केही ठाउँमा भारी र अति भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य पाँच प्रदेशको तुलनामा कम पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

पानी पर्ने क्रम अबको तीन दिन जारी रहने भएकाले बिभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएका कारण स्थानीयबासीलाई सजग रहन महाशाखाले आग्रह गरेको छ। गएराति पनि देशैभर पानी परेको मौसमविद् नगरकोटीको भनाइ छ। 

पछिल्लो २० घन्टायता काठमाडौं उपत्यकामा ३६ दशमलव ८ मिलीमिटर, मकवानपुरमा २३० मिलीमिटर, सिन्धुपाल्चोकमा ११९ मिलीमिटर, सिन्धुलीमा १२९ मिलीमिटर, चितवनमा १५४ मिलीमिटर र तनहुँमा १७१ मिलीमिटर बर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।

यसैबीच, लगातारको वर्षाका कारण देशभरका नदीहरूमा पानीको सतह निरन्तर बढेको छ। मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदी तथा तिनका सहायक नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। 

आज बिहान साढे ५ बजेको मापनअनुसार सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ। जसका कारण धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.