|

बैतडी : पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर (सडक मजदुर)हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको  उनीहरुको भनाइ छ।
  

२०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले धेरै ढाँटेको छ र हेपेको छ,’ उनले भने, ‘अब तलब नपाउँदासम्म अनसन तोड्दैनौं।’

संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत रहेको छ। सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई उक्त सडक हस्तान्तरण गर्ने बेला लेन्थवर्करलाई हस्तान्तरण गरेको थियो। प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले तीन महिनाको तलब पनि बुझेका थिए। तर, २०७६ साल असोजदेखि आफूहरुले पारश्रमिक नपाएको हरजित महराले बताए। 

‘तलब नपाएको  विषयमा संघीय सांसददेखि प्रदेश सांसद, मन्त्रीसम्म जानकारी गरायौं। तर, कसैले हाम्रो समस्या समाधान गरिदिएन्। हामी सडकमा काम गर्ने मजदुरको पीडा सरकारले देखेन,’ उनले भने, ‘अहिलेसम्म आश्वासन मात्रै दिए, सरकारले हाम्रो पीडा बोध गरोस् भनेर हामीले अनसन बस्न बाध्य भयौं।’

वर्षौंदेखि काम गर्दै आएको ठाउँमा अलपत्र पार्ने काम सरकारले गरेको लक्ष्मी पन्तको गुनासो छ। ‘हामीलाई घर न घाटको बनाइएको छ,’ उनले भनिन्, ‘हाम्रो व्यवस्थापन नहुँदासम्म आन्दोलन जारी रहन्छ। अब हामी सडकमा उत्रिसकेका छौं।’

प्रदेश सरकार मातहत आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लालसिंह धामीले आरोप लगाए। ‘सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा हामीलाई कुनै समस्या थिएन,’ उनले भने, ‘तर, सडक प्रदेश सरकार मातहत गएपछि समस्यामा परेको छौं।’

१० वर्षदेखि काम गर्दै आएका मजदुरहरुले समस्या समाधान नभए सडक संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।
  
सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिनुका साथै व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए। यस्तै, निवर्तमान संघीय सांसद दामोदर भण्डारीले प्रदेश मातहत गएको सडक भएकाले प्रदेश सरकारले नै उनीहरुको व्यवस्थापन गर्नुपर्ने बताए। यसअघि बैतडीबाट निर्वाचित  प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टले पनि संसदमा उनीहरुको पारिश्रमिकको बिषयमा कुरा उठाएका थिए।

यसअघि सडक मजदुरहरुले बिहीबार पारिश्रमिक दिलाइदिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। पाटन–पञ्चेश्वर सडकमा १२ जनाले काम गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.