|
छोराहरु सन्देश र टेकराजसँग गोविन्द चुँदारा।

सुर्खेत : कालिकोटको तिलागुफा नगरपालिका–७ चँदारा गाउँका दुईजना दाजुभाइ बेसहारा भएका छन्।

गत कात्तिक २ गते आमा रितु चँदाराको मृत्यु भएपछि उनका दुईजना छोराहरुको बिचल्ली भएको हो। उनी ३१ वर्षकी थिइन्। 

बालकका बुवा ३६ वर्षीय गोविन्द चँदारा अपाङ्ग भएकाले उनीहरुको बिचल्ली भएको हो। उनी टाढासम्म हिँडडुल गर्न सक्दैनन्।

बेसहारा बनेका ४ वर्षीय सन्देश र २ वर्षीय टेकराजलाई हजुरआमाले जेनतेन स्याहारसुसार गर्दै आएकामा उनको पनि गत फागुन ४ गते मृत्यु भएपछि दाजुभाइको कन्तबिजोक भएको छ।

हजुरआमाले गाउँमा मागेर ल्याएको चामल र पीठोले जसोतसो उनीहरु बाँचिरहेका थिए। पत्नी र आमाको मृत्युपछि गोविन्दलाई छोराहरुको छाक टार्न मुश्किल भएको स्थानीय तथा नगर कार्यपालिकाकी सदस्य लालपुरा बिष्टले बताइन्।

‘घरमा कमाउने कोही नभएका कारण उनीहरूलाई विहान–बेलुकीको छाक टार्नसमेत कठिन भएको छ‚’ स्थानीय तथा जिल्ला समन्वय समिति सदस्य वीरबहादुर रावतले भने। 

कसैले दिएमा मात्र उनीहरुको छाक टर्ने नत्र भोकै बस्नुपर्ने बाध्यता रहेको स्थानीय नेता रतनबहादुर बम (सागर) बताउँछन्। उनीहरुको उमेर बढ्दो भएकाले खानसँगै पढाइको समस्या पनि थपिएको उनले बताए। 

स्थानीय छिमेकी पूर्णकला चँदाराका अनुसार गोविन्दका कोही आफन्तसमेत नभएको बताइन्। उनले भनिन्‚ ‘गोविन्द र उनका नाबालक छोराहरुको समस्याले हामीहरुलाई पनि दुःखित बनाएको छ।’

सुत्केरी हुँदा पोषिलो खानेकुरा नपाएर नै कुपोषणका कारण गोविन्दकी पत्नीको मृत्यु भएको छिमेकीले बताएका छन्।

नाबालक दुई छोराको पेट कसरी भर्ने भन्ने चिन्ताले आफूलाई सताएको गोविन्द दुःख पोख्छन्। सम्पत्तिको नाममा उनीसँग भएको ४ पाथी पाखोबारी पनि पहिरोले लगेको छ।

गोविन्दको घर।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.