|

काठमाडौं : सत्तारूढ एमालेका नेता एवं पूर्व-राज्यमन्त्री रामवीर मानन्धरले मुलुकमा सर्वोच्‍च अदालतको फैसलाले देशलाई निकास दिने विश्वास व्‍यक्त गरेका छन्। सोमबार बिहान बालाजु-७ का पार्टी कार्यकर्ताहरूसँगको छलफलमा नेता मानन्धरले राजनीतिक स्थिरताका लागि हुन लागेको चुनावको विकल्प नरहेको बताए।

संसद विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको रिटको सुनुवाइ सकिनै लागेका बेला एमाले नेता मानन्धरले संसद पुनर्स्थापना भए न्यायालयमाथि जनविश्वास समाप्त हुने जिकिर गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीनिकट निवर्तमान सांसद समेत रहेका मानन्धरले प्रतिनिधिसभा पुनर्स्थापना भए मुलुक झन् राजनीतिक संकटमा फस्ने दाबी गरे। हालको प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री दिनै नसक्ने जिकिर गर्दै नेता मानन्धरले कुनै पनि कोणबाट प्रधानमन्त्री ओलीको विकल्पमा कोही आउनै नसक्ने दाबी गरे।

आगामी कार्तिक र मंसिरमा हुने चुनावपछि एमालेले एकल बहुमतको सरकार बनाउने अवस्था आंकलन भएपछि विपक्षी गठबन्धनले अदालतमाथि अनावश्यक दबाब दिएको मानन्धरको आरोप छ। 
पुस ५ मा पहिलो पटक प्रधानमन्त्री ओलीले नै संसद विघटन गरेको तर यस पटक भने संविधानले नै संसद विघटन गराएको दाबी गर्दै नेता मानन्धरले यदि संसद पुनस्थापनाको फैसला आइहाल्यो भने त्यो संविधान विपरित हुने दाबी गरे। अदालत संविधानको अन्तिम ब्याख्याता भए पनि संविधानभन्दा माथि गएर निर्णय गर्ने अधिकार अदालतलाई नभएको मानन्धरको तर्क छ। 

संविधानले बहुदलीय राजनीतिक व्यवस्था अंगिकार गरेको बताउँदै मानन्धरले संसदीय दलको निर्णय विपरित देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फर्जी मात्र हुने बताए।  केही दिनभित्र आउने फैसलाले मुलुकलाई निकास दिनेमा आफूहरू विश्‍वस्त रहेको पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.