दोस्रो तहका नेता अझै तीव्र दाैडमा

|

काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। 

माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। 

तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए। ओलीले हस्ताक्षर फिर्ता लिन दिइएको समय बितिसक्दा समेत नेता नेपाल समूह आफ्नो अडानबाट पछि हटेन। 

ओलीले पटक पटक संसद् विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउँदै आएको नेपाल समूहले आफ्नो हस्ताक्षर फिर्ता लिएन। देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए। एमाले एकताका लागि नेपाल समूहको हस्ताक्षर नै पार्टी एकताको बाधक बनिरहेको संस्थापन पक्षको भनाइ छ।  

ओली–नेपाल ‘इगो’ 

दुवै पक्ष लचिलो भएर पार्टी एकता जोगाउनुपर्ने दोस्रो तहका नेताहरूले जोडबल गरिरहेका छन्। तर, ओली र नेपालबीचको इगोकै कारण पार्टी एकता सम्भावना पातलिँदै गइरहेको छ। 

ओलीको आफ्नो निर्णयबाट पछि नहट्ने र नेता नेपाल विपक्षी गठबन्धनसँगको सहकार्यमा धेरै अघि बढिसकेका छन्। जसले एकता सम्भावना कमजोर बन्दै गएको छ।  

ओली निकट एक नेता भन्छन्, ‘हामीले उहाँ (माधवजी)लाई फर्काउन धेरै प्रयास गरेका हौँ। तर, उहाँ विपक्षी गठबन्धनबाट धेरै अघि बढिसक्नुभएको छ। उहाँहरूको आगामी निर्वाचनसम्मको तालमेल गरेर जानेसम्मका योजना बनिसकेकाले फर्कन समस्या परेको देखिन्छ।’

पार्टी नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने व्यक्ति पार्टीको सदस्य नभएको ओलीले आरोप लगाएका छन्। 

केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेका थिए, ‘पार्टी एकताका लागि म लचिलो भएको हुँ। उहाँहरू देउवालाई प्रधानमन्त्री बनाउन जानुभएको छ। पार्टी अध्यक्षविरुद्ध विपक्षीलाई समर्थन गर्ने पार्टीको नेता कार्यकर्ता नै होइन। उहाँहरूलाई धेरै कुरे अब सोमबारसम्म हस्ताक्षर फिर्ता भएन भने कुरेर बस्न सकिँदैन।’

ओलीले हस्ताक्षर फिर्ता गर्न दिएको समयको कुनै औचित्य नभएको कारण फिर्ता नगरेको नेतृ रामकुमारी झाँक्री तर्क गर्छिन्। भन्छिन्, ‘हामीले बालुवाटार बैठकलाई मान्यता दिएकै छैनौँ। त्यसैले उहाँहरूको गुट भेलाको निर्णयलाई हामी स्वीकार गरेर अघि बढ्न सक्दैनौँ।’

त्यसो त नेता नेपालले शनिबार आफूनिकट सांसद्हरूको छलफलमा संविधान र लोकतन्त्रको पक्षमा हस्ताक्षर गरेको हुनाले फिर्ता नलिने बताएका थिए। देउवाको पक्षमा हस्ताक्षर गरेको २३ सांसदहरूलै फिर्ता लिन नहुने पक्षमा एकमत रहेको नेतृ झाँक्रीको भनाइ थियो। 

छलफलबाटै निकास 

नेता नेपाल समूहलाई हस्ताक्षर फिर्ता गर्न दिएको  दिएको समयसीमा सकिएपछि कसरी अघि बढ्ने भन्नेबारेमा टुंगो नलागेको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। 

‘हामीले उहाँहरूलाई हस्ताक्षर फिर्ता गर्न दिएको समय सकियो। अब पार्टीलाई कसरी अगाडि बढाउने र उहाँहरूका बारेमा कसरी अघि बढ्ने भन्ने छलफलमा छौँ’ उनले भने, ‘त्यसबारे आवश्यक निर्णय लिएर अघि बढ्छौँ।’

ओली सुध्रिँदैनन् : माधव नेपाल

नेता नेपालले पटक पटक भन्दै आइरहेको छन्, ‘केपी ओली सच्चिने मान्छे होइनन्। बरु बालुवा पेल्दा तेल निस्किएला ओली सुध्रिँदैनन्।’

तर, एमालेको दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन हरदम प्रयासरत देखिएका छन्। ओलीको निर्देशनअनुसार हस्ताक्षर फिर्ता नलिने अडानमा रहेका उपाध्यक्ष भीम रावल आइतबार बालुवाटार पुगे। 

ओलीलाई पार्टी एकता जोगाउनका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विषयमा अघि नबढ्न भन्दै कार्यदललाई सक्रिय बनाउन आग्रह गरेका थिए। 

ओली र उपाध्यक्ष रावल बीचको सहमतिअनुसार एमालेको विवाद समाधानका लागि गठित कार्यदल ब्युँतिएको छ। नेता नेपाल समूहले हस्ताक्षर फिर्ता लिनका लागि अस्वीकार गरेपछि अनौपचारिक छलफलमा रहे पनि कार्यदलको बैठक बस्ने तय भइसकेको कार्यदल सदस्य सुवास नेम्वाङले बताए।

‘आजबाटै कार्यदलको बैठकले औपचारिकता पाउँछ। पार्टी एकता जोगाउनका लागि सबै चिन्तित छौँ’, उनले भने, ‘हाम्रो प्रयास खेर जाँदैन भन्नेमा विश्वस्त छौँ।’ 

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। भने, नेता नेपाल समूहबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.