|

जनकपुरधाम : केही दिनदेखि बारा, रौतहट, सर्लाही, महोत्तरीका गाउँमा छिरेर उत्पाद मचाउँदै आएको जंगली हात्ती धनुषामा प्रवेश गरेको छ।

धनुषाको वटेश्वर गाउँपालिकामा गएराति देखिएको हात्ती आज दिउँसो मिथिला नगरपालिका ढल्केवरको उत्तरी भेगका बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित बनेका छन्। 

बटेश्वरमा देखिएका दुई जंगली हात्ती मध्ये एउटालाई स्थानीयवासीले सुरक्षा निकाय, वन कर्मचारीको सहयोगमा जंगलतर्फ धपाएका छन्। बटेश्वर–१ चित्रपुरमा देखापरेको एक जंगली हात्ती मिथिला नगरपालिका–८ हुँदै ढल्केवरमा पसेपछि त्यहाँबाट जंगल तर्फ धपाइएको मिथिला नगरपालिकाले जनाएको छ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिल कुमार कर्णले प्रहरी, वन रक्षक र स्थानीयवासी मिलेर मिथिला नगरपालिका–५ मा पर्ने औरहीबाबा सामुदायिक वन हुँदै राष्ट्रिय वनतर्फ हात्तीलाई धपाइएको बताए।

उनले हात्तीलाई वनतर्फ धपाइए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरेको जानकारी दिए। डिभिजन प्रमुख कर्णले हात्तीलाई जिस्काउने काम गर्न नहुने बताउँदै यसले भौतिक तथा मानवीय क्षति गर्ने सम्भावना रहेकाले सतर्क रहनका लागि आग्रह गरे।

हात्ती अझैं केही दिन सो क्षेत्रमा रहने भएकाले सजग रहनका लागि पनि डिभिजन प्रमुखले आग्रह गरे। डिभिजन प्रमुख कर्णले हात्ती पर्सा वन्यजन्तुबाट आएको हुन सक्ने बताउँदै डिभिजन वन कार्यालयले वनरक्षकहरुलाई सो क्षेत्रमा परिचालन गरेको जनाएको छ।

धनुषामा हात्ती प्रवेश गरे पनि हालसम्म मानविय तथा भौतिक क्षति नपुर्‍याएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.