|

सल्यान : गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा  खुसीयाली छाएको छ।

वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका  स्थानीयलाई लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी वितरण भएको छ। 

घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले बताइन्। 'गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि सोचेको थिइन्, आज आफ्नै आँखाअघि घरमै खानेपानी आएपछि निकै खुसी लागेको छ,' उनले भनिन्, ‘यस्तो डाँडोमा पनि कहाँबाट खानेपानी आउला र भन्ने लागेको थियो। हामीसँगै हाम्रापछिका सन्ततिले पनि पानी बोकेरै दुःख काट्ने भए भन्ने लागेको थियो तर आफ्नै पालामा घरभित्र पानी खान पाइयो।’

पहिले दैनिक २ देखि ३ घण्टा हिँडेर खानेपानीको लागि हिँडेर जानुपर्ने बाध्यता हटेको इन्द्र पुनले बताए। पानीकै लागि रातभर जाग्राम बस्नुपर्ने र पानीकै कारण समाजमा झैंझगडा हुने गरेकोमा सबै दुःख र झगडासमेत खानेपानीले अन्त्य गरेको उनको भनाइ छ। उनले भने, ‘रातभर पानीका लागि जागराम बस्दा सर्प, जंगली जनावरको डर हुन्थ्यो, भीरबाट लड्ने उत्तिकै डर थियो तर गाउँमा खानेपानी आएपछि निकै सहज भएको छ।’

संसद् विकास कोषको ५० लाख, कर्णाली प्रदेश सरकारको ५० लाख र बनगाड कुपिण्डे नगरपालिकाको २ करोड ७४ लाख गरी ३ करोड ७४ लाखको लागतमा लिफ्ट खानेपानी योजना सम्पन्न भएको मेयर गोविन्द पुनले बताए।

लिफ्ट योजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ  बरापोखराका १ सय ७६ घरधुरीका झन्डै १ हजार २ सय नागरिक प्रत्यक्ष लाभान्वित भएका उनको भनाइ छ।

गाउँबाट ४ सय २ मिटर टाढाबाट गाउँमा खानेपानी योजना सञ्चालन गरिएको इन्जिनियर महेश देवकोटाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.